फुटबलर एञ्जिलाको जीवनसंघर्ष फिल्म ‘अञ्जिला’ आजदेखि हलमा

बिर्तामोड । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको बायोपिक चलचित्र ‘अञ्जिला’ आजदेखि देशैभरका हलहरुमा रिलिज हुँदैछ ।

आजदेखि रिलिज हुने फिल्म ‘अञ्जिला’ लाई हलमा राम्रो चलिरहेको ‘होस्टेल ३’ का बाबजुद हलहरूले राम्रो ‘सो’ उपलब्ध गराएका छन् । फिल्मको अग्रिम बुकिङ हिजोदेखि नै सुरु भएको छ ।

सोमबार भएको प्रिमियरबाट व्यापक मात्रामा सकारात्मक प्रतिक्रिया पाएपछि हलहरूले उक्त फिल्मलाई राम्रो ‘सो’ दिएका हुन् । अञ्जिलाले बुधबारसम्म ११० ‘सो’ पाएको बताइएको छ ।


‘प्रिमियरमा दर्शकले देखाएको उत्साह र प्रशंसा हेर्दा हामी निकै सकारात्मक छौँ । ‘सो’ संख्याभन्दा पनि दर्शकको उपस्थिति र प्रतिक्रिया प्रमुख कुरा हो’, निर्देशक मिलन चाम्सले भने ।

मल्टिप्लेक्सहरूमा मात्र होइन, सिंगल स्क्रिन हलहरूबाट पनि राम्रो ‘सो’ प्राप्त भएको उनले बताए । रिलिजको दिन बिहीबार फागुपूर्णिमा परेकाले अधिकांश सिनेमा हल दिउँसोदेखि मात्र सञ्चालन हुने र शुक्रबारदेखि ‘सो’ संख्या उच्च हुने उनको अपेक्षा छ ।

चलचित्रमा फुटबलर एञ्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मका संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन् ।

त्यसैगरी फिल्ममा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङको अभिनय छ ।

चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा गरिएको हो । प्रेमकुमार श्रेष्ठ निर्माता रहेको यस फिल्म हङकङ, कोरिया, बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान र नेपालको धरानमा पनि प्रिमियर गरिएको थियो ।

हलमा प्रदर्शनअघि नै प्रिमियर ‘सो’बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको ‘अञ्जिला’ले हलमा दर्शकको उत्साहजनक साथ पाउने आशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय