झापा । रङहरूको पर्व होली आज मनाइँदै छ । पहाडी तथा हिमाली भूभागमा यो पर्व आज मनाइँदै छ । तराईका जिल्लामा भने भोलि मनाइनेछ । पहाड र हिमाली क्षेत्रमा भन्दा एक दिन पछि तराईमा यो पर्व मनाउने गरिएको छ ।
रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।
होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ । विभिन्न रंगीचंगी कपडाले सजिएको चीर ठड्याएपछि सुरु हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
होलीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पनि शुभकामना दिएका छन् ।