काठमाडौं। नेपाल प्रहरी ३० वर्षे सेवा अवधि नहटेपछि आउँदो चैत ४ गतेबाट वर्तमान आइजीपी बसन्त कुँवर अनिवार्य अवकाशमा जाँदैछन्। उनी अवकाशमा गएपछि नेपाल प्रहरीले नयाँ ३१ औं महानिरीक्षक (आईजीपी) पाउने भएको छ।
संगठनमा नयाँ आइजीपी आउने भएपछि पुरानालाई विदाई र नयाँलाई स्वागतको तयारी भव्य भइरहेको छ। आइजीपी सचिवयाल, निवास दुवैतिर सहयोगीहरु आउने जाने क्रम चलिरहेको छ। आइजीपी को हुन्छ भन्ने निश्चित छैन। मन्त्रिपरिषदको बैठकले चैच ४ गतेसम्म नयाँ आइजीपी तय गर्नेछ।
नयाँ आइजीपीमा दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मध्ये एक जना हुने निश्चित छ। थापा, तामाङ र गिरी मध्ये एक जना आइजीपी हुने भएकाले तीनै जना आफू हुनका लागि दौडधुप गरिरहेका छन्। यद्यपि एकले अर्कालाई निषेध गर्नेगरी अघि बढेका छैनन्।

उनीहरु मध्ये एक जना आइपीपी भएपछि ६ एआइजी पद रिक्त हुनेछ। सो पदका लागि दौडधुप उनीहरुभन्दा बढी दौडधुप शुरु भएको छ। अब हुने ६ एआइजीमध्येबाट ३२ औं र ३३ औं आईजीपी हुने भएपछि उनीहरुले आफूलाई केन्द्रमा राखेर बढुवाका लागि शक्ति केन्द्रमा लविङ थालेका छन्।
४ चैतमा बस्ने वा त्यो भन्दा अघि बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरी कुँवरको बिदाई गर्ने छ। कुँवरको विदाईसँगै थापा, गिरी र तामाङ मध्ये एक जनाले नक्सालको ‘हट सिट’ कब्जा गर्नेछन्।