झापा । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना अनुसार नेपालमा कूल नसर्ने रोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको उल्लेख छ । जसमा अपाङ्गता गराउने प्रमुख १० कारकहरू मध्ये ४ वटा कारण मानसिक स्वास्थ्य समस्या भित्र रहेको उल्लेख छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपालको रिपोर्ट अनुसार नेपालमा १३ देखि १७ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समास्या देखिएको छ । त्यसमा पनि २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या रहेको र ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच हुने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
१८ वर्ष उमेर समूह भन्दा माथिका व्यक्तिहरूमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ भने उनीहरु मध्ये ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस तथा ७.२ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था आउने गरेको रिपोर्टमा उल्लेख छ ।

महिलाहरुको तुलनामा पुरुषमा मानसिक रोगको समस्या बढी देखिएको र पछिल्लो समय मानसिक स्वास्थ्यको अवस्था जटिल बन्दै गएसंगै यसलाई रोकथाम, दीर्घकालीन निराकरण र जनचेतना अभिवृद्धिका लागि सोमवार बिर्तामोडमा मानसिक स्वास्थ्य सम्वन्धि एक दिवसिय अभिमुखिकरण कार्यक्रमको आयोजना गरियो । जसमा मनोविद कपिल शर्मा र मानसिक रोग विशेषज्ञ डा।आभाष निरौलाले सहजीकरण गर्दै नेपालमा मानसिक रोगको अवस्था, यसको लक्ष्यण र उपचार पद्दतिका बारेमा जानकारी गराउनुभयो ।
विभुक्ति प्रतिष्ठान नेपाल र बिर्ता सिटी अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी कर्मचारीलाई नेपालमा मानसिक स्वास्थ्यको विद्यमान अवस्था र मानसिक स्वास्थ्य सूचकका विषयमा जानकारी गराइएको थियो ।
मानिसमा धेरै महत्वकांक्षा बढ्नु, अस्वभाविक बढ्दो वैदेशिक रोजगारी, अनौपचारिक क्षेत्रमा व्यवसाय गर्नु, सामाजिक सञ्जालको सही उपयोग नगर्नु, बढ्दो दिर्घ रोग, मध्यपान र धुम्रपानको बढी प्रयोग जस्ता विविध कारणले नेपालमा मानसिक रोगका विरामी बढ्दै गएको कार्यक्रममा जानकारी गराइयो । जसका कारण मानिसले आत्महत्या गर्ने सम्मको बाटो रोज्ने गरेको बिर्तासिटी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. आभाष निरौलाले बताउनुभयो । डा. निरौलाले पछिल्लो समय बैदेशिक रोजगारीबाट फर्किएकाहरुमा मानसिक रोगको समस्या धेरै पाईएको समेत उल्लेख गर्नुभयो ।
मानिसले शारीरिक स्वास्थ्यको अधिक ख्याल गर्ने तर मानसिक स्वास्थ्यका विषयमा खासै चासो नदेखाउने समस्या देखिएपनि लुकाउने गरेका कारण मानसिक स्वास्थ्यको अवस्था विकराल बन्दै गएको बिर्तासिटी अस्पतालकी डा. रोमी वस्नेतको बुझाई छ । विभुक्ति प्रतिष्ठान नेपालकी अध्यक्ष समेत रहेकी डा. बस्नेतले मानसिक स्वास्थ्य सम्वन्धि जनचेतना अभिवृद्धिका लागि प्रहरीसंगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । समाजदेखि सडक सुरक्षासम्मको जिम्वेवारी वहन गर्ने प्रहरी र ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने हुँदा उनीहरुलाई समेत मानसिक रुपले दह्रो बनाउन कार्यक्रम आयोजना गरिएको डा. वस्नेतको भनाई छ ।
प्रहरी र ट्राफिक प्रहरीहरु दैनिक काममा व्यस्त रहने र विभिन्न पक्षसंग समन्वय र सहकार्य गर्दै सुरक्षाको भूमिका निर्वाहका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीका लागि मानसिक स्वास्थ्य अति महत्वपूर्ण रहने भएकाले यो कार्यक्रम प्रहरी कर्मचारीका लागि फलदायी बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलले बताउनुभयो ।
प्रहरी कर्मचारीहरुलाई मानसिक स्वास्थ्य तन्दुरुस्ती र सेवाग्राही तथा ऊ आफैंलाई आफ्नो हेरचाहका लागि सन्तुलित रुपमा काम गर्न सहयोग पुग्ने आफूले विश्वास लिएको प्रहरी निरीक्षक पौडेलको भनाई छ ।
नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना (२०७६–२०८१) मा पनि मानसिक स्वास्थ्य सेवाको पहुँच सबै तहमा विस्तार गर्दै लैजाने योजना समावेश गरिएको छ । नेपाल सरकारले नसर्ने रोगहरूको रोकथाम तथा उपचारका लागि बहुपक्षीय कार्ययोजना (२०१४–२०२०) अनुसार मानसिक स्वास्थ्यका क्रियाकलाप सहितको कार्ययोजना लागू गरेको छ ।
समुदायमा जनस्वास्थ्य समस्याको रूपमा रहेको र जोखिम समूहका व्यक्ति तथा समूहलाई अझ बढी प्रभावित पार्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याका क्षेत्रमा सेवा प्रदान गर्न देशमा दक्ष जनशक्तिको अभाव रहेको अवस्थामा स्थानीय स्तरमा जनचेतना अभिवृद्धिसंगै प्रहरी र ट्राफिक प्रहरीको स्वास्थ्यमा केन्द्रीत रहेर विभक्ति प्रतिष्ठान नेपाल र बिर्ता सिटी अस्पतालले कार्यक्रम आयोजना गरेको भन्दै सहभागीले धन्यवाद ज्ञापन गरेका छन् ।