सागर गौतम, खुदुनावारी । झापाको अर्जुनधारा–३ मा रहेको खुदुनावारी साना किसान कृषि सहकारी संस्था लिमिटेडले सदस्यको मृत्यु भएपछि उनको परिवारलाई नगद साढे ३ लाख हस्तान्तरण गरेको छ। संस्थाकी सदस्य चन्द्रमाया दमाईको मृत्यु भएपछि उनको श्रीमान धनबहादुर दमाईलाई संस्थाले उक्त नगद रकम प्रदान गरेको हो ।
धन बहादुरको श्रीमती चन्द्रमाया दमाई खुदुनावारी साना किसान अन्तर्गतको अन्तर समूह ३ (घ) समूह नं–२६८ मा शेयर सदस्य रहनु भएको थियो । ५३ वर्षको उमेरमा असामयिक निधन भएकोमा ८ हजार ५ सयको म्यादी जीवन बीमा गरेको भुक्तानी सहित ३ लाख रुपैंयाँ र शेयर सदस्य मृत्यु राहत कोषबाट ५० हजार रुपैंया उनको श्रीमतीको निधन भएकाले पाएका हुन् ।
संस्थाले अर्जुनधारा–३ स्थित जुकेखाडी धनबहादुर दमाईको घर पुगेर चन्द्रमायाको नौं पुन्यतिथीको अवसरमा संस्थाका अध्यक्ष कृष्ण प्रसाद दंगालले सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । श्रद्धाञ्जली सभामा संस्थाका उपाध्यक्ष विष्णुलाल ढकाल, संस्थाका मुख्य प्रबन्धक गोपीकृष्ण लुइटेल, संचालक कार्य समिति सदस्य धरणीधर खतिवडा, संस्था अन्तर समूह ३ घ अध्यक्ष उर्मीला खतिवडा, पूर्व अन्तर समूह अध्यक्ष डिल्ली प्रसाद भट्टराई, अर्जुनधारा–३ वडा सदस्य नारायण चापागाई, सीता वयलकोटी, पूर्व संचालक समिति सदस्य सुभद्रा अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघसँगको सम्झौता र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स मार्फत विगत १ वर्षयता म्यादी जीवन बीमा कार्यक्रम अन्तर्गत संस्थाले सेयर सदस्यहरुलाई जोड्दै आएको मुख्य प्रबन्धक लुइटेलले जानकारी दिनुभयो ।