मेचीनगर । मेचीनगर नगरपालिकाले कृषकहरुको मागलाई मध्येनजर गरेर ‘पशु पालन प्रोत्साहन’ लगायतका कार्यक्रमहरु ल्याएको छ । मेचीनगर नगरपालिकाको पशु शाखा प्रमुख बिक्रम गुरुङका अनुसार कृषकहरुको माग अनुसार ‘पशुपालन प्रोत्साहन कार्यक्रम’ लगायतका कार्यक्रमहरु ल्याएको हो ।
‘पशुपालन प्रोत्साहन कार्यक्रम’
‘पशुपालन प्रोत्साहन कार्यक्रम’ अन्तरगत कृषकहरुलाई पशुपालन सम्बन्धी के कुराको आवश्यकता छ, सोही अनुसार नगरपालिकाले व्यवस्था गरिदिने उनको भनाई छ । कृषकलाई अत्यआवश्यक पर्ने कुटी काट्ने मेसिन, काउँमेट, बीमा लगायतका सामग्री ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने छ । ‘पशुपालन प्रोत्साहन कार्यक्रम’ का लागि हालसम्म १३१ जना कृषकले शाखामा निवेदन दर्ता गरेको गुरुङले जानकारी दिए । आवश्यक सामग्री माग गरे बमोजिमको निवेदन अनुसार अनुगमन र मुल्याङ्कन गरेपछि कृषकलाई छनोट गरेर ‘पशुपालन प्रोत्साहन कार्यक्रम’ मा समावेश गरिने शाखाको भनाई छ ।
विगतमा अनुदानमा कृषकले लापरबाही गरेपछि यसवर्षदेखि कानुन अनुसार अनुगमन र मुल्याङ्कनमा वडाध्यक्ष, शाखाका प्राविधिक, वडाका प्राविधिक, आर्थिक विकास समिति संयोजक वा प्रतिनिधि लगायतको समितिले निर्णय गर्ने छ । नगरपालिकाले पन्ध्र वटै वडामा उक्त कार्यक्रममा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि २५ लाख रुपैयाँ बजेट छुट्टाएको छ । यसैगरी पशु शाखाले पशुपालन कृषकलाई हिउँदे सिजनको घाँसको विउँ ५० प्रतिशत अनुदानमा वितरण गरिसकेको छ ।

२२६० केजी जै घाँसको विउँ वितरण
२१७ जना कृषकलाई २२६० केजी जै घाँसको विउँ वितरण गरिएको पशु प्राविधिक छत्रबहादुर राईले जानकारी दिए । अब चाँडै वर्खे जै घाँसको विउँ पनि वितरण गरिने तयारीमा रहेको उनको भनाई छ ।
नश्ल सुधार कार्यक्रम
चालु आर्थिक वर्षमा पशु शाखाबाट विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको छ । जसमा नश्ल सुधार कार्यक्रम अन्तरगत नश्लको विउँबाट कृतिम गर्भाधान गरी दुध उत्पादनमा सुधार ल्याउन २४५६ वटा गाई र १८१ वटा भैसी गरी कुल २६३७ वटा पशुमा कृतिम गर्भाधान सेवा पुराएको छ ।
पशुमा १६ हजार खोप
यस्तै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरसँगको सहकार्यमा पशुमा लाग्ने माहामारी जन्यरोग नियन्त्रणका लागि पीपीआर, एफएमडी, स्वाइन फिवर लगायतका रोग विरुद्धको खोरेतको १६ हजार डोज खोप लगाइएको बताइएको छ ।
आन्तरिक र बाह्य परिजीवी नियन्त्रण, पशु स्वास्थ्य व्यवस्थापनका लागि औषधि खरिद तथा वितरण कार्यक्रम अन्तरगत ९५० जना पशुपालक कृषकहरुलाई फाइदा पुगेको शाखाले जनाएको छ ।
कुकुर र विरालोलाई रेविज विरुद्धको खोप
शाखाबाट २३६ वटा र १५ वटै वडामा ३६६ वटा रेविज विरुद्धको डोज खोप सामुदायिक तथा घर पालुवा कुकुर र विरालोहरुलाई निःशुल्क लगाइएको छ ।
बोकालाई बन्ध्याकरण
यसैगरी शाखाबाट २६० वटा बोकालाई निःशुल्क बन्ध्याकरण गरी कृषकलाई सेवा दिइएको छ भने शाखाको ल्याव मार्फत आन्तरिक परजीवीको पहिचानका लागि ४२१ वटा गाई र भैसी तथा बाख्राहरुमा गोवर परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको बताइएको छ ।
३८९ कृषकको फर्म दता
शाखाका पशु प्राविधिक राईले व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्ने ३८९ कृषकहरुको फर्म दर्ता गरिएको बताए ।
यी र अन्य सबै पशुपालन सम्बन्धी कार्यक्रमका लागि यसवर्ष ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
गतवर्ष पशुमा ४० हजार खोप
यता गतवर्ष २०८०/०८१ मा पशुमा लाग्ने माहामारी जन्यरोग नियन्त्रणका लागि पीपीआर, एफएमडी, स्वाइन फिवर लगायतका रोग विरुद्धको खोरेतको ४० हजार डोज खोप लगाइएको बताइएको छ । जसमा खोरेतको १५ हजार खोप, पीपीआईको १५ हजार खोप, स्वाइन फिवरको ५ हजार खोप र एफएमडीको ५ हजार खोप लगाइएको छ ।
यस्तै ५८९ वटा बोकालाई निःशुल्क बन्ध्याकरण गरी कृषकलाई सेवा दिइएको छ भने शाखाको ल्याव मार्फत आन्तरिक परजीवीको पहिचानका लागि ५५१ वटा गाई र भैसी तथा बाख्राहरुमा गोवर परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको बताइएको छ ।
यसैगरी नश्ल सुधार कार्यक्रम अन्तरगत नश्लको विउँबाट कृतिम गर्भाधान गरी दुध उत्पादनमा सुधार ल्याउन २५६४ वटा गाई र २७९ वटा भैसी गरी कुल २८४३ वटा पशुमा कृतिम गर्भाधान सेवा पुराएको छ । आ न्तरिक र बाह्य परिजीवी नियन्त्रण, पशु स्वास्थ्य व्यवस्थापनका लागि औषधि खरिद तथा वितरण कार्यक्रम अन्तरगत १८६७ जना पशुपालक कृषकहरुलाई फाइदा पुगेको शाखाले जनाएको छ ।
शाखाबाट २६८ वटा र १५ वटै वडामा ४०० वटा रेविज विरुद्धको डोज खोप सामुदायिक तथा घर पालुवा कुकुर र विरालोलाई निःशुल्क लगाइएको छ । पशु प्राविधिक राईले गतवर्ष व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्ने ३६८ कृषकहरुको फर्म दर्ता गरिएको बताए ।