झापा । लागूऔषध बोकेर झापाबाट इलामतर्फ जाँदै गरेका दुईजनालाई पिकअपसहित इलाम प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो बिहान ११.५ बजे झापाबाट इलामतर्फ जाँदै गरेको मे १ च ४५२५ नम्वरको पिकअप गाडीलाई इलाम नगरपालिका– ९ सेरामा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा गाडीको डिकीमा लुकाएर ल्याएको प्लाष्टिकसहित ८३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
त्योसंगै लागूऔषधसहित पिकअप चालक इलाम नगरपालिका १२ साङरुम्बा बस्ने २२ वर्षीय रोशन लिम्बू र सोही ठाउँ बस्ने २२ वर्षीय मनिष राई पक्राउ परेका हुन् ।

उनीहरुलाई लागूऔषध र पिकअप गाडीसहित जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।
यता आज दिउँसो १२ः४० बजे झापा भद्रपुर नगरपालिका वडा न.५ मेची बिटबाट खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेचीनगर नगरपालिका वडा नम्बर १० हिमालय टोल बस्ने २६ वर्षीय प्रकाश यादव र सोही वडाको शान्तिचोक बस्ने ३२ वर्षीय साकिर महमद लागूऔषधसहित पक्राउ परेका छन् ।
उनीहरुलाई चेकजाँच गर्ने क्रममा मलद्वारभित्र प्लाष्टिकले पोका पारी लुकाएर ल्याउँदै गरेको १ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।