राजावादीलाई काउन्टर दिन ओली-देउवा-दाहालबीच भेटवार्ताको तयारी

काठमाडौं । राजावादीहरुको आन्दोलन चर्किन थालेपछि गणतन्त्रवादीहरुबीच पनि मोर्चाबन्दीको गृहकार्य थालिएको छ । खासगरी जनतासँग माओवादी अभियान लिएर तराई/मधेश झरेका विपक्षी दलका नेता पुष्पकमल दाहाल अभियान बीचमै रोकेर काठमाडौं फर्किएपछि गणतन्त्रवादीहरुबीच मोर्चाबन्दीको प्रयास भएको हो ।

झापाबाट सुरु भएको अभियान मधेशको रौतहट पुगेपछि दाहालले अभियान बीचमै रोकेर गणतन्त्रमाथि प्रहार हुन थालेकोले विशेष कदम चाल्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । उनी काठमाडौं फर्किनेबित्तिकै समसामयिक राजनीतिबारे विश्लेषण गरेका छन् । पदाधिकारी बैठक राखेर दाहालले गणतान्त्रिक व्यवस्थामाथि प्रहार हुन थालेको भन्दै एकजुट भएर प्रतिकार गर्नुपर्ने निश्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र दाहालबीच पनि फोन सम्वाद भएको बताईएको छ । तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन् । दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि पछिल्लो राजनीतिक विषयमा फोनसम्वाद भएको बताईन्छ । विशेष सूत्रकाअनुसार आज/भोलिभित्रै प्रमुख तीन दलका नेतृत्वबीच भेटवार्ताको तयारी छ ।


कांग्रेस, एमाले र माओवादीले मिलेर व्यवस्थाको पक्षमा प्रदर्शन गर्नेसम्मको तयारी गरिएको उच्च स्रोतको दाबी छ । प्रधानमन्त्री ओली यतिवेला सुदूरपश्चिममा छन् । उनी सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्नको लागि धनगढी पुगेका हुन् । उता, कांग्रेस सभापति देउवापनि पार्टीको कार्यक्रममा सरिक हुन धनगढी नै पुगेका छन् ।

दुवै नेता आजै साँझ काठमाडौं फर्किने बताईन्छ । उनीहरु आएपछि दाहालसहितका शीर्ष नेताहरुसँग छलफल गर्ने बुझिएको छ । राजावादीहरुले व्यवस्थामाथि नै चूनौति दिन थालेको भन्दै यस विषयमा साझा रणनीति अख्तियार गर्ने र सडकमा ओर्लिएका राजावादीहरुलाई सडकबाटै एकमुष्ट जवाफ दिनेगरि संसद्का ठूला दलका प्रमुख नेताहरुले तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
157
सम्बन्धित

लोकप्रिय

लोकप्रिय