महिला गोल्डकपको उपाधिमाथि एपिएफको कब्जा

इलाम । महिला फुटबलको पावर हाउस सशस्त्र प्रहरी बलको एपिएफ एफसी यहाँ आयोजित दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप को च्याम्पियन बनेको छ । आज भएको विभागी डर्बीको फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेर एपिएफले उपाधि कब्जा गरेको हो ।

ठूलो टुँडिखेलमा भएको फाइनल खेलमा आर्मीलाई २-१ गोलअन्तरले पराजित गर्दै एपिएफले उपाधिसहित नगद ४ लाख र आकर्षक ट्रफी रक्षा गरेको छ । एपिएफका लागि सविता रानामगर र गीता रानाले गोल गरेकी हुन् भने आर्मीको लागि विमला चौधरीको सान्त्वना गोल रह्यो । एपिएफका लागि पहिलो हाफ र दोस्रो हाफमा गोल सम्भव भएको हो भने आर्मीले दोस्रो हाफमा एक गोल फर्काएको हो । पहिलो हाफको २५औँ मिनेटमा पाएको पेनाल्टी सुटमार्फत एपिएफकी गीता रानाले गोल गरेकी हुन् ।

यस्तै, एपिएफकै सविता रानामगरले दोस्रो हाफको १९औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् । तर, आर्मीकी विमला चौधरीले दोस्रो हाफको २६औँ मिनेटमा गोल गरे पनि खेलमा फर्कन सकेन । अन्तिम समयसम्म आर्मीले खेलमा फर्किने कोसिस गरे पनि सफल हुन सकेन । उपविजेता बनेको आर्मीले नगद २ लाख र ट्रफीमा चित्त बुझायो ।


फाइनल खेलको सविता राना प्लेयर अफ दी म्याच बन्दै नगद पाँच हजार पाइन् । बेस्ट गोलकिपर आर्मीकी अन्जना रानामगर भइन्, बेस्ट डिफेन्डर विमला विक, हाइ स्कोरर रश्मिकुमार घिसिङ, बेस्ट मिडफिल्डर रेनुका नगरकोटी बन्दा प्लेयर अफ दी टुर्नामेन्ट एपिएफकी कप्तान अनिता बस्नेत भइन् ।

विधागत पुरस्कारतर्फ जनही नगद १०/१० हजार प्रदान गरिएको थियो भने सर्वोत्कृष्ट खेलाडी बनेकी एपिएफकी बस्नेतले नगद १५ हजार र ट्रफी पाइन् । उनीहरुलाई पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, आयोजक क्लबका अध्यक्ष ध्रुव राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
157
सम्बन्धित

लोकप्रिय

लोकप्रिय