बिर्तामोडकी जासो ऋषिदेव, जस्ले अभावले ज्यान गुमाइन्

बिर्तामोड । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोष्ठी र सेमिनारमा महिला अधिकारका बारेमा कुरा चलिरहँदा झापा बिर्तामोड–१० विराटपोखरकी जासो ऋषिदेवले भोक र रोगले ज्यान गुमाइन् ।

अति विपन्न मुसहर समुदायकी जासो गत वर्षदेखि थला परेकी थिइन् । न सुत्ने घर, न खाने अन्न र त्यसमा पेटको रोग, दम, खोकी, क्षयरोगजस्ता धेरै बिरामीले च्यापेपछि बिहीबार बिहान ४० वर्षकै अल्पायुमै उनको निधन भयो ।

सैनिकबजार जाने सडक छेउको ऐलानी जग्गामा ७ घर मुसहरहरुको दशकौँदेखि बसोबास छ । त्यही मुसहर बस्तीमा एउटा पनि बेरा नभएको, छानो मात्र भएको उदांगो टहरामा जासोको परिवार बस्छन् ।


आठजना छोराछोरीमध्ये करिब चार वर्षअघि एकजनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि सातजना छोराछोरीलाई जासो र उनका श्रीमान शत्रुधन ऋषिदेवले जनमजदुरी गरेर पाल्न सकेनन् । त्यही भएर उनका छोराछोरीले मागेरै गुजारा चलाएका छन् ।

घरमा खानेकुरा नभएपछि उनीहरुका छोराछोरी अरुकै घरमा खान पुग्छन् । सुत्ने घर नहुँदा उनीहरुको सुताइ पनि बाहिर नै हुन्छ । सातजना छोराछोरीमध्ये कोही पनि विद्यालय जाँदैनन् ।

५ छोरा र २ छोरीमध्ये जेठी छोरी भारतको नागाल्यान्डमा बाल मजदुरको रुपमा काम गर्छिन् । अरु ६ जना घरमै छन् ।

यस्तो दर्दनाक अवस्थामा जासो गत वर्षदेखि थला परेपछि उनलाई औषधि उपचार टाढाको कुरा, भरपेट खान पाइनन् । छरछिमेकले दिएको खानेकुराले लगभग एक वर्ष प्राण बचाएर अन्ततः दुई दिनअघि ज्यान गुमाइन् ।

आर्थिक अभावसँगै चेतना नभएका कारण जासो र उनका श्रीमान् शत्रुधन अधिकांश समय मादकपदार्थले मातेका भेटिन्थे । छिमेकीहरुले गाली गर्दै सहयोग गर्थे ।

छिमेकी खगेन्द्र संग्रौलाका अनुसार खानेकुरा र सामान्य औषधि किन्न छिमेकी भएको नाताले आफूहरुले सहयोग गरे पनि अस्पतालमै लगेर उपचार गर्न नसकेको बताए ।

-प्रतिदिनबाट

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
252
सम्बन्धित

लोकप्रिय

लोकप्रिय