बिर्तामोड । प्रधानमन्त्री (पिएम) कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टोलीको घोषणा भएको छ । कोशी प्रदेश क्रिकेट संघले बिहीबार अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा सबैभन्दा बढी मोरङका पाँचजना खेलाडी छन् । मोरङबाट दिपेश कडेल, फिर्दोस अन्सारी, चिराग शाह, सकिब हक र श्रवण किस्कू रहेका छन् ।
त्यस्तै, झापाबाट कप्तान सुवेदीसहित चारजना छन् । सुजन थपलिया, विपिनकुमार महतो र समिर कार्की झापाका हुन् । सुनसरीबाट तीनजना रहेका छन् । भूपाल लुइँटेल, प्रकाश कार्की र सुमन गहतराज सुनसरीका हुन् ।

त्यस्तै, उदयपुरबाट आइस भट्टराई र सोनु अन्सारी छन् भने इलामबाट सन्दीप ढुंगाना कोशी प्रदेशको टोलीमा परेका छन् ।
टोलीको प्रशिक्षकमा राजकुमार प्रधान छन् भने व्यवस्थापकमा शिबु बुढाथोकी र फिजियोमा प्रदिप पाण्डे रहेका छन् ।
पिएम कप आइतबार सुरु हुँदैछ । पहिलोपटक प्रतियोगिताका सबै खेल काठमाडौँबाहिर हुँदैछ । यसपटक लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा पिएम कपका खेल हुनेछन् ।
प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुँदैछ । कोशी प्रदेशको पहिलो खेल उद्धघाटनको दिन लुम्बिनी प्रदेशसँग भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीसहित १० टिमको सहभागिता रहेको छ । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।