बिर्तामोड । राजनितिक उदेश्य प्राप्तिका निम्ति भुईमान्छेले खेलेको भुमिकालाई केन्द्रविन्दु बनाएर लेखिएको भुईमान्छे पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापाका अग्रज साहित्यकार, लेखक र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
साहित्य पत्रकार मञ्चका अध्यक्ष हरि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिङकन मन्टेश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले स्वागत गर्नु भएको थियो ।

साहित्य पत्रकार मञ्चको आयोजना एवं विरता रिर्डसको सहयोगमा सम्पन्न कार्यक्रममा पुस्तकको परिचर्चा विरता रिर्डसका संयोजक एवं लेखक तीर्थ सिग्देलले गर्नुभएको थियो ।
उहाँले भुइमान्छेको योगदानले पार्टी निर्माणमा खेलेको भुमिका, बामपन्थी आन्दोलनको ज्वाराभाटको रुपमा रहेको सुखानी हत्याकाण्ड र यस भित्रका विषयगत घटनाक्रमलाई रोचकरुपले प्रस्तुत गर्न लेखक सफल भएको बताउनुभयो ।
उहाँले यो पुस्तक इतिहासको दस्तावेज भएको बताउनुभयो । राजनितिक घटनाक्रममा पुस्तक केन्द्रित रहेतापनि पुस्तकलाई रोचक बनाउन भाषिक प्रस्तुतीकरणमा विशेष ध्यान दिइएको बताउनुभयो ।
लेखक सिग्देलले साहित्य पत्रकार मञ्चले लेखन र पठनसिपकलाको बिकास गर्दै सूचना सम्प्रेशण गर्न खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
उहाँले झापाका विविध साहित्यक गतिविधीलाई उजागर गर्न समन्वयकारी भुमिका खेल्दै मञ्चले आफ्नो गतिविधीहरुलाई अझ चलायमान बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित साहित्यकार लेखकहरुले राखेको जिज्ञासाको जवाफ दिदै भुईमान्छेको योगदानलाई पार्टी नेतृत्वले स्मरण गरोस, बामपन्थी पार्टीको स्थापनामा योगदान पुर्याउने महान व्यक्तिहरुको बारेमा जनतालाई जानकारी होस भन्ने उदेश्यले पुस्तक लेखिएको लेखक पाण्डेले बताउनु भयो ।
उहाँले आजै नेकपा एमालेका ५ जना नेतालाई इलाम जेल सार्ने बाहनामा सुखानी जंगलमा मारिएको स्मरणमा मनाइदै आएको शहिद दिवसको अवसर पारी सुखानीमै पुस्तकको विमोचन गरिएको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार तथा गजलकार केशव आर्चाय, सहित्यकार दुर्गाप्रसाद सिग्देल, विरता रिर्डसका सह–संयोजक केशव मैनाली, साहित्य पत्रकार मञ्चका उपाध्यक्ष रवीकिरण बान्तवा, साहित्य पत्रकार मञ्चका सचिव भरत भाबुक प्रसाई, सह–सचिव मुना प्रसाई, सदस्य सरोज पौडेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण साहित्य पत्रकार मञ्चका सचिव भरत भाबुक प्रसाईले गर्नुभएको थियो ।