झापा । झापामा प्रतिबन्धित लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भद्रपुरका एकजना र दमकका दुईजना रहेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी बिट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड वडा नं. १ पश्चिम बस स्टेन्डमा भद्रपुर नगरपालिका वडा नं. ४ बस्ने ३३ वर्षीय दिनेश माझीलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ६५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै प्रतिबन्धित औषधीसहित दमकमा दुईजना पक्राउ परेका छन् । दमक नगरपालिका वडा न. ६ शंखधर चोकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय विकास चुडाल र वडा नं २ बस्ने २८ वर्षीय दिपक दियालीलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा हिडिरहेको फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित औषधीहरु ट्रामाडोल १७ पत्ता (१७० क्याप्सुल) र स्पास्पेन १७ पत्ता (१७० चक्की) फेला परेको थियो । तीनैजनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।