भद्रपुर झापा गोल्डकपको उपाधि भिडन्तमा झापा ११ र भद्रपुर ब्लेजर्स भिड्दै

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा च्याम्पियन बन्ने टोलीको छिनोफानो आज हुँदैछ । मेची रंगशालामा ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ ।

झापाली डर्बीबीच प्रतिस्पर्धा हुने भएकाले जसले जित निकाले पनि उपाधि झापाले नै जित्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

झापा ११ ले अहिलेसम्म गृह जिल्लामा गोल्डकप उपाधि हात पार्न सकेको छैन । झापा गोल्डकपमा पाँचपटक फाइनलमा पुगेर पनि झापा ११ उपविजेतामै सीमित भएको छ । झापा ११ गृह जिल्लामा उपाधिको खडेरी तोड्ने दाउमा छ ।


आयोजकको भद्रपुर ब्लेजर्स उपाधिमाथि कब्जा जमाउने योजनामा छ । झापा ११ ले प्रतियोगितालाई ‘बि’ डिभिजन तयारीका रूपमा लिएको छ । ‘दर्शकलाई राम्रो खेल प्रदर्शन गर्दै उपाधि जित्ने योजनामा छौँ,’ झापा ११ का प्रशिक्षक अंगुरकुमार खड्गीले भने, ‘खेलको अवस्था हेरेर रणनीति बनाउँदै खेल खेल्नेछौँ, खेलाडी फाइनलका लागि तयार छन् ।’ प्रतियोगितामा झापाले एरोन थापा र एलोन थापालाई समावेश गरेको छ । सेमिफाइनलदेखि समिर तामाङ र रोहन कार्की सम्मिलित छन् । उनीहरु नेपाल सुपर लिगका मार्की खेलाडी हुन् । झापा ११ का कप्तान पेमा तामाङले टिम सेट बनाउन लगातार दुई वर्षदेखि प्रशिक्षण गरिरहेको बताए ।

‘हामीले दुई वर्षदेखि सँगै खेल्दै आइरहेका छौँ, एकअर्काको क्षमता थाहा छ,’ तामाङले भने, ‘एलोन, एरोन, समिर र रोहन आउँदा फाइदा भएको छ ।’ भद्रपुरले घरेलु फुटबलमा राम्रो खेल खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरेको छ । स्तरीय विदेशी खेलाडीसहित रहेको यस टोलीले फाइनलमा झापा ११ लाई चुनौती दिने अपेक्षा छ । ‘हामीसँग व्यावसायिक फुटबल खेलेका खेलाडी छन्, उनीहरू एकआपसमा संगठित भएर खेल्छन्,’ भद्रपुरका कप्तान आशिष चापागाईंले भने, ‘हामी राम्रो प्रदर्शन गर्छौं ।’ भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले फाइनलका लागि खेलाडी तयार रहेको बताए । ‘आयोजक भएकाले घरेलु दर्शकको साथ पाउने आशा छ,’ उनले भने, ‘झापा ११ को खेल हेरेका छौँ । उनीहरूको कमजोरी थाहा छ । त्यहीअनुसार योजना बनाएर खेल्छौँ ।’ भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस, नेपाल पुलिस क्लब र बंगलादेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने झापा ११ ले मछिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड र भुटानलाई स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको हो ।

प्रतियोगिताको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख पाँच हजार रुपैयाँ पाउने छ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
67
सम्बन्धित

लोकप्रिय

लोकप्रिय