मेचीनगर । मेचीनगरको पन्ध्र वटै वडामा पूर्वाधार तथा विकास निर्माणका कामहरु धमाधम भइरहेका छन् । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ९२९ वटा योजना तथा कार्यक्रमहरु अघि बढाएको छ ।
नगरपालिका अन्तरगतको पूर्वाधार विकास समिति संयोजक चित्र धिमालका अनुसार ९२९ वटा योजना तथा कार्यक्रमहरु मध्ये २८ वटा योजना सम्पन्न भएर भुक्तानी भइसकेको छ । २३ वटा योजना सम्पन्न भएका छन् । ४१ वटा योजना कार्यदेश अनुसार जारी छन् । ३५ वटा योजना सम्झौता भएका छन् । २ वटा योजनाको बोलपत्र आव्हान गरिएको छ ।
त्यस्तै १० वटा लागत अनुमान कार्यक्रम स्वीकृत भएका छन् । १३ वटा योजनाका लागि उपभोक्ता समिति गठन गरिएको छ । १८८ वटा योजना तथा कार्यक्रम सुरु भएको छ भने ७४१ वटा योजना प्रक्रिया सुरु गरिने तयारीमा रहेको धिमालले जानकारी दिए ।

पूर्वाधार विकास शाखामार्फत ८७ वटा योजना तथा कार्यक्रममा २३ वटा सुरु भएको छ । शिक्षा शाखाको २२ वटा योजनामा ११ वटा, स्वास्थ्य शाखाको २० वटामा २ वटा, महिला तथा बालबालिका शाखाको ११ वटामा २ वटा, कृषि शाखाको २६ वटामा ८ वटा, पशु शाखाको १२ वटामा ९ वटा योजना तथा कार्यक्रम सुरु भएको छ ।
यस्तै प्रशासन तथा योजना अनुगमन शाखाको २० वटामा एउटा, सामाजिक विकास शाखाको ४३ वटामा १० वटा र वातावरण, सरसफाइ तथा विपद व्यवस्थापन शाखाको ९ वटामा २ वटा योजना तथा कार्यक्रम सुरु भएको नगरपालिका कार्यालयले जनाएको छ ।
पन्ध्र वटै वडाका योजना तथा कार्यक्रमहरु यस्तो रहेको छ । जसमा वडा नं.१ मा ४३ वटामध्ये ७ वटा, वडा नं.२ मा ४२ वटा मध्ये ८ वटा, वडा नं.३ मा ४५ वटा मध्ये २७ वटा, वडा नं.४ मा ७३ वटा मध्ये ११ वटा, वडा नं.५ मा ४१ वटा मध्ये २० वटा, वडा नं.६ मा ५० वटा मध्ये १२ वटा, वडा नं.७ मा ५२ वटामध्ये ११ वटा र वडा नं.८ मा ४८ वटा मध्ये २ वटा योजना सुरु भएको छ ।
यसरी नै वडा नं.९ मा ३१ वटा मध्ये २ वटा, वडा नं.१० मा ४७ वटा मध्ये ६ वटा, वडा नं.११ मा २७ वटा मध्ये ५ वटा, वडा नं.१२ मा ४१ वटामध्ये ८ वटा, वडा नं.१३ मा ३६ वटा मध्ये ३ वटा, वडा नं.१४ मा ४५ वटामध्ये २ वटा र वडा नं.१५ मा ४६ वटा मध्ये ५ वटा योजना तथा कार्यक्रम धमाधम भइरहेको छ ।
नगरबासीलाई नगरपालिकाको हरेक कामहरु हेर्नका लागि कार्यालयले योजना मोनिटरिङ प्रणाली सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । उनले प्रत्येक वडा कार्यालय, नगरपालिकाको सबै शाखाहरुको दैनिक प्रगति विवरण नगरको वेवसाइडको योजना मोनिटरिङ प्रणालीमा राखिएको बताए । उनका अनुसार प्रणालीमा नगरको सबै कामहरु मजाले हेर्न सकिने छ ।