झापा । चौतर्फी आलोचना भएपछि ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को उद्घाटनमा सन्किएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चितवन पुगेर माफी मागेका छन् । झापा कचनकवलको कार्यक्रममा आफूले मनोवैज्ञानिक अवरोध उत्पन्न भएको महसुस गर्दा रिसाउन पुगेको उनको स्पष्टीकरण छ ।
मंगलबार चितवनमा पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सार्वजनिक रूपमै माफी मागेका हुन् । उनले भने, ‘मैले बोल्न मात्र सुरुवात के गरेको थिएँ अलिकति त्यहाँ मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो । अनि त्यसपछि त्यसलाई अलिकति बिझाएजस्तो महसुस गरेँ ।’
पछि आफूले त्यसलाई सामान्य घटनाको रूपमा लिएको उनले बताए । ‘सामान्य घटनाको रूपमा लिन सबैलाई अनुरोध गर्छु । त्यसो नगरिदिया भए पनि हुन्थ्यो । सहिदिएको भए पनि हुन्थ्यो । कतिपयले मलाई म्यासेज पनि पठाउनु भएको छ । पार्टीबाहिरका साथीहरूले पनि मलाई तपाईंको टावरिङ पर्सनालिटीले त्यसो गर्नु सुहाएन भन्नु भएको छ । जसलाई अलि चित्त दुख्या छ, सार्वजनिकै रूपमा क्षमायाचना गर्न चाहन्छु,’ उनले भने ।

सोमबार उनी बोल्दाबोल्दै कार्यक्रम सञ्चालक माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य ‘अग्नि’ पोडियम अगाडि उभिएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सन्किएर माइक छाडेका थिए । जब पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पालो आयो, उनले आफ्ना कुरा राख्दै थिए। २०७२ सालमा संविधान जारी भएपछिका उपलब्धीका बारेमा चर्चा गर्दै थिए। त्यति नै बेला कार्यक्रमका उद्घोषक राजु आचार्य ‘अग्नि’ नारायणकाजीको छेउमा गएर उभिए।
त्यसपछि नारायणकाजी एकाएक जंगिए, ‘तपाईं मलाई सम्बोधन सक्नु भन्न आउनु भएको होरु हो भने भन्नुस्। म जान्छु।’
आचार्यले भने, ‘होइन, त्यस्तो होइन।’ नारायणकाजी पुनः जंगिए, ‘होइन भने किन अगाडि उभिन आउनु भएकोरु उनले दर्शकदीर्घातिर फर्केर फेरि भने, ‘समयको चाप छ, म थोरै कुरा भन्न चाहन्थें। कार्यक्रम सञ्चालकलाई समयको चाप भयो होला, म विदा चाहन्छु, लाल सलाम!’
तर, सञ्चालक आचार्यले आफूले कुनै गल्ती नगरेको स्पष्ट पार्दै क्षमायाचना गरेका थिए । ‘नारायणकाजी कमरेड बोल्दा म अनायासै पोडियम अघिल्तिर पुगेछु’, आचार्यले भने,‘तर, मेरो नियत उहाँलाई चाँडो मन्तव्य सक्नु भन्ने थिएन ।’
श्रेष्ठले माइक छाडेपछि अध्यक्ष दाहालले परिस्थितिलाई सम्हाल्ने प्रयास गरे । श्रेष्ठप्रति लक्षित गर्दै भने, ‘वरिष्ठ उपाध्यक्ष सैद्धान्तिक विषय राख्न बल गर्दै हुनुहुन्थ्यो, तर उहाँले मन्तव्य नरोक्दा राम्रो हुन्थ्यो ।’ उनले यसलाई ठूलो विषय नभएको बताउँदै आत्मसमीक्षाको आवश्यकता रहेको बताएका थिए ।