झापामा अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

झापा । झापाको बिर्तामोडमा प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता –२०८१ हुने भएको छ ।

झापाको बिर्तामोडस्थित फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको आयोजनामा चैत २९ र ३० गते प्रतियोगिता सञ्चालन गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा फिट स्टुडियोका सञ्चालक एवम् अन्तराष्ट्रिय कोच दिपेन धिमालका अनुसार प्रतियोगितामा सात वटै प्रदेशबाट एक हजार खेलाडी, एक सय अफिसियल निर्णायकहरु गरी दुई हजार जनाभन्दा बढीको सहभागिता रहनेछ । तेक्वान्दो खेल मार्फत खेलाडीहरुलाई खेलप्रतिको रुची, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।


धिमालले पत्रकार सम्मेलनमा खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु र राष्ट्रको छवि सदैव अन्तर्राष्ट्रिय जगतमा उच्च राखेर नेपाललाई चिनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको जानकारी दिए । खेलकुदको माध्यमबाट स्वस्थ र जिम्मेवार युवा निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

तेक्वान्दोतर्फ ३५ केजी, ३८ केजी, ४१ केजी, ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी र ५८ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ । त्यस्तै पुम्सेतर्फ महिला–पुरुष दुबैको १० वर्षभन्दा कम, १२ वर्षभन्दा कम र १४ वर्षमाथि उमेर समूहको प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले आकर्षक मेडल तथा प्रमाणपत्र पाउनेछन् भने बेस्ट फाइटर एक–एक जना महिला–पुरुषले २०–२० हजार नगद पुरस्कार समेत प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उत्कृष्ट टिमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद राशीको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा २० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका २० जना निर्णायक (रेफ्री) सहभागी हुने छन् । प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैयाँको खर्च अनुमान गरिएको छ ।

प्रतियोगितामार्फत खेलकुद क्षेत्रसँगै जिल्लाको पर्यटन प्रवद्र्धन गर्नेछ भने प्रदेशहरू बीच आपसी सम्बन्ध कायम राख्न मद्दत पुग्ने पनि विश्वास लिएको धिमालको भनाई छ ।

प्रतियोगिताको आयोजनासँगै यहाँका पर्यटकीयस्थलहरको प्रचारप्रसार, स्थानीय व्यावसाय र पर्यटन व्यावसायलाई थप प्रवद्र्धन गर्न सहयोग गर्ने जनाइएको छ ।

देशभरका तेक्वान्दो खेलाडीहरु बिर्तामोडमा आउँदै गर्दा झापाको खेलकुद धार्मिक र ऐतिहासिकस्थल एवम् व्यापारिक क्षेत्रको पनि प्रवद्र्धन हुने बताइएको छ ।

अधिकांश युवा पुस्ता लागूऔषधको दलदलमा फसिरहेको बेला युवा पुस्तालाई सही मार्गमा पुर्याउन खेलकुदको भूमिका हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
237
सम्बन्धित

लोकप्रिय

लोकप्रिय