खुदुनाबारी । झापाको खुदुनाबारीमा सम्पन्न भएको लिम्बूनी ठूली स्मृति कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनीक गरिएको छ ।
अर्जुनधारा ३ को च्यारिटी युथ क्लबको आयोजना र अमेरीका निवासी बाबी सुब्बाको प्रायोजनमा गत माघ २७ गतेदेखि फाल्गुन ४ गतेसम्म संचालन भएको प्रतियोगिताको आज एक कार्यक्रमकाबिच हिसाब सार्वजनीक गरिएको हो ।
आयोजक संस्थाका आन्तरिक लेखा समितिका संयोजक अर्जुन निरौलाका अनुसार प्रतियोगिता सम्पन्न गर्न १५ लाख ९८ हजार ९८२ रुपैयाँ खर्च भएको छ । प्रतियोगिता संचालनकालागि भएको सम्पूर्ण खर्च अमेरिकामा बस्दै आएका प्रतियोगिताका प्रायोजक बाबी सुब्बाले प्रायोजन गरेका हुन् ।

दिवंगत आमा आइतमाया सुब्बा सुहाङ (लिम्बूनी ठूली)लाई झापा र खुदुनाबारीबासीमाझ जिवन्त राख्न काइँला छोरा बाबी र उनका परिवारले शीर्ष प्रायोजन गरेर प्रतियोगिता आयोजना गरिएको हो । बाबी फुटबल खेलाडी र प्रशिक्षकसमेत हुन् । लिम्बूनी ठूली आफ्ना परिवार भुटानबाट लखेटिएपछि भुटानी शरणार्थी शिविर खुदुनाबारीमा आएका थिए । पुनर्वासका क्रममा अमेरिका पुगेकी लिम्बूनी ठूलीको गतवर्ष निधन भएपछि उनको परिवारले स्मृति कपको प्रायोजन गरेको हो ।
यसैबीच, कैदले प्राकृतिक रंगशालाको स्तरोन्नतिका लागि अमेरिकामा रहेका आर.बी. खड्काबाट १ लाख ५० हजार र लाल थापाबाट १० हजार ५० रुपैयाँ प्राप्त भएको आयोजकले जनाएको छ । उक्त रकम रंगशालाको स्तरोन्नतिमा खर्च गरिने छ ।
प्रतियोगिता मुल आयोजक समितिका संयोजक सूर्य इम्बुङको अध्यक्षता तथा शीर्ष प्रायोजक बाबी सुब्बाको प्रमुख आतिथ्यमा भएको हिसाब सार्वजनिक कार्यक्रममा स्थानीय अगुवा हरि वाग्ले, नेपाल रेडक्रस सोसाइटी खुदुनाबारीका अध्यक्ष जीवन भण्डारी, आयोजक क्लबका अध्यक्ष लिलाबल्लभ खतिवडाले आफ्ना भनाइ राख्नुभएको थियो ।
युवराज चापागाईले संचालन गर्नुभएको कार्यक्रमलाई प्रतियोगिताका खेल संयोजक तथा टिम व्यवस्थापक दिपक दुलालले स्वागत गर्नुभएको थियो । हिसाब सार्वजनीक कार्यक्रममा अर्जुनधारा ३ विभिन्न स्थानका खेलाडीहरुलाई ६ थान फुटबल समेत बितरण गरिएको थियो ।
अर्जुनधारा ३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंगशालामा माघ २७ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालित प्रतियोगिताको उपाधि मोरङको पथरी ११ एफसीले जितेको थियो । फाइनल खेलमा जलथल एफसी झापालाई सडनडेथमा पराजित गर्दै पथरी ११ ले नगद १ लाख ५५ हजार ५५५ प्राप्त गरेको थियो । उपविजेता जलथलले ७७ हजार ७७७ रुपैयाँ पाएको थियो ।