बिर्तामोड । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ ।
भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लोसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका कप्तान आशिष चापागाईंले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याए ।

त्यस्तै, खेलको ४२ औँ मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट सिंगल खेल्दै गोल गर्न सफल भए । दार्जिलिङका गोलरक्षक सिंहसँग वानटुवान स्थितिमा उनले गोल गरे । खेलको ७२ औँ मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गरे ।
पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा आयोजक भद्रपुरमाथि दबाब सिर्जना गरेको थियो । खेलको ५० औँ मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गरे । खेलको ५५ औँ मिनेटमा नयन प्रधानले अर्को गोल थपे । आशिष देवानको क्रस पासमा पेनाल्टी एरियामा अनमार्क रहेका प्रधानले सुन्दर गोल गरे । खेलको ७० औँ मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए ।

खेलको ३४ औँ मिनेटमा आशिष चापागाईंको क्रस पासमा मिलन राईले गरेको पावरफुल प्रहार दार्जिलिङका गोलरक्षक सिंहले पञ्च गरेर बचाउ गरे । ५३ औँ मिनेटमा आशिष चापागाईंले विपक्षी गोल रक्षकसँग वान भर्सेस वानको स्थितिमा गोल गर्ने सकेनन् ।
खेलको अधिकांश समय दार्जिलिङले विपक्षी भद्रपुरमाथि खासै मुभ बनाउन सकेन । टेक्निकल खेल प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा दबाब दिए पनि पहिलो खेलबाटै घर फर्कियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिमका आशिष चापागाईं भए । उनले नगद २१ हजारसहित ट्रफी पाए । उनलाई सौजन्यकर्ता चण्डीराज पराजुलीको परिवारले पुरस्कार प्रदान गर्यो ।
खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले पहिलो हाफमा नतिजा आफ्नो पक्षमा पारेपछि टिमले दोस्रो हाफमा दबाबको सामना गर्नु परेको बताए । उनले वैकल्पिक खेलाडीले अन्तिम समयमा परिणाम आफ्नो पक्षमा पार्न सफल भएको बताए ।
दार्जिलिङका प्रशिक्षक शिव तामाङले टिमले सुरूवातमै गोल खाएपछि दबाब झेलेको बताए । टिम सेट नभई गोल खानु विपक्षी टिमलाई नतिजा सुम्पिनु परेको उनको भनाइ छ ।
बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजकका सचिव तीर्थ ढकालले जानकारी दिए । मोफसलकै प्रतिष्ठित र लोकप्रिय प्रतियोगिता भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल भद्रपुर रहेका छन् ।
भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् । गोल्डकपको उद्घाटन राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रत्येक दिन टिकट काट्ने भाग्यशाली दर्शकलाई आकर्षण पुरस्कारको पनि व्यवस्था मिलाइएको छ ।
गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उनले प्रतियोगिताबारे प्रकाश पारेका थिए । कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेलले शुभकामना व्यक्त गरेका थिए ।