झापा । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ ।
शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् ।
गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

चर्को आलोचना भएपछि भने विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई धम्क्याएको विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् ।
प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।