बिर्तामोड । झापा बिर्तामोडका शिक्षकहरुले आफूहरुको देशव्यापी आन्दोलनका बारेमा नगरपालिकालाई ध्यानाकर्षण गराउँदै सहयोगका लागि अपिल गरेका छन् ।
नेपाल शिक्षक महासंघ बिर्तामोडका तर्फबाट मंगलवार नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ अघि बढेको यो आन्दोलनलाई सहयोग र समर्थन गर्न सवै शिक्षा सरोकार पक्षसंग अपिल गरेका छन् ।
शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेल र सचिव उमानाथ भण्डारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ‘२०८१ माघ १६ र १७ गते बसेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार पहिलो चरणका आन्दोलनका कार्यक्रम थालनी गरेका छौँ । आन्दोलन अघि बढ्दै जाँदा आगामी चरणमा अवरोधात्मक,अवज्ञा(बहिष्कार) र काठमाडौं केन्द्रित सडक आन्दोलनका कार्यक्रमहरु लिएर हामी अघि बढ्नेछौं।

महासंघले गर्ने आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म रोकिने छैन। आम नेपाली विद्यार्थी, शिक्षक र कर्मचारीको न्यायिक मागहरू सम्बोधन हुने गरी शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ अघि बढेको यो आन्दोलनलाई सहयोग र समर्थन गर्न हामी विद्यार्थी, अभिभावक ,जनप्रतिनिधिहरु तथा सवै शिक्षा सरोकार पक्षमा हार्दिक अपिल गर्दछौं। ’
विगतमा भएका सवै सहमति सम्बोधन हुने गरि विद्यालय ,विद्यार्थी ,शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन अब आन्दोलनमा जानु बाहेक अर्को विकल्प नरहेको स्पष्ट पारिएको छ ।