लिम्बूनी ठूली स्मृति कपको उपाधि पथरी ११ लाई

अर्जुनधारा । पाहुना टोली मोरङको पथरी ११ एफसी झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीमा आयोजित स्व लिम्बूनी ठूली स्मृति कप २०८१ च्याम्पियन बनेको छ ।

स्थानीय कैदले प्राकृतिक रंगशालामा आज भएको फाइनल खेलमा जलथल एफसी झापालाई सडनडेथमा पराजित गर्दै पथरी ११ ले उपाधि रक्षा गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको छिनोफानोका लागि रोजिएको टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडनडेथमा धकेलिएको थियो । सडनडेथमा पथरी ११ ले ५-४ गोलअन्तरले जलथलको चुनौती समाप्त पारेको हो ।

पथरी ११ का लागि मिन धिमाल, आशिष लावती, आशिष चापागाई, अबयोमी र अंकित लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । उमेश कार्की र धिरेन विष्टको प्रहार जलथलका गोलरक्षक देवन भुजेलले रोक्दा मञ्जिल खड्काको प्रहार बाहिरिएको थियो । यसैगरी, अभिषेक गुरुङ, रोशन धिमाल, पेमा तामाङ र पुजन राईको प्रहारमात्र गोलमा परिणत भयो भने टेकन मगरको प्रहार पथरी ११ का गोलरक्षक समिर क्षेत्रीले रोकेका थिए । यस्तै, राजेश राजवंशी, निरज कार्की र असिमजंग कार्कीको प्रहार बाहिरिएको थियो । पथरी ११ का गोलरक्षक समिर क्षेत्री प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार ५ सय पाउन सफल भए । यस्तै, बेस्ट कोच पथरीकै सुमन विक, बेस्ट मिडफिल्डर आशिष लावती र बेस्ट डिफेन्डर धिरेन विष्ट भए ।


जलथलका रोशन धिमालले हाइस्कोररको उपाधि जिते भने बेस्ट गोलकिपर जलथलकै देवन भुजेल भए । यस्तै, बेस्ट प्लेयर जलथलकै अशिमजंग कार्की घोषित भए । राइजिङ प्लेयर आयोजक च्यारिटी युथ क्लबका निशान बस्नेत, लोकल प्लेयर राजेश दाहाललाई प्रदान गरियो । जितसँगै पथरी ११ ले नगद १ लाख ५५ हजार ५५५ तथा उपविजेता जलथलले ७७ हजार ७७७ रुपैयाम चित्त बुझाएको छ । विधागततर्फ जनही ५५ हजार र बेस्ट प्लेयरलाई नगद ७ हजार र ट्रफी प्रदान गरिएको थियो । वर्षौंअघि भुटानी शरणार्थी शिविरमा बस्दै आएकी लिम्बूनी ठूलीको स्मृतिमा च्यारिटी युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

लिम्बूनी ठूलीको नामले परिचित आइतमाया सुब्बाको गतवर्ष पुनर्वासका क्रममा अमेरिका गएपछि निधन भएको थियो । उनका छोरा बाबी सुब्बा र परिवारले स्मृति कपका लागि प्रायोजन गरेका हुन् । बाबी सुब्बा यतिबेला पुनर्वासका क्रममा अमेरिकामा रहँदै आएका छन् । दिवंगत आमालाई अर्जुनधारा खुदुनाबारीबासीमाझ जिवन्त राख्दै नेपाली फुटबलको विकासमा सानो सहयोग गरेको उनको भनाइ छ । बाबी आफैँ पनि फुटबल खेलाडी र प्रशिक्षकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
244
सम्बन्धित

लोकप्रिय

लोकप्रिय