भारतको राजधानी नयाँ दिल्लीस्थित रेलवे स्टेशनमा शनिबार राति भएको भागदौडमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन् ।
लोकनायक अस्पताल (एलएनजेपी) की प्रमुख चिकित्सा अधीक्षक डा रितु सक्सेनाका अनुसार घटनाका क्रममा १८ जनाले ज्यान गुमाएका छन् । बीबीसीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । यो घटना शनिबार राति ९ बजे भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

यसैबीच, भारतीय रक्षा मन्त्री राजनाथ सिंहले पनि मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्य धारण गर्न अपिल गरेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
भारतीय अधिकारीहरुका अनुसार प्रयागराजमा महाकुम्भको लागि चल्ने दुई स्पेशल रेलको ढिलाईका कारण यात्रुको भीड निक्कै बढेको थियो । भीड यति बढेको थियो कि अनियन्त्रण भएर घटना भएको हो । यात्रुहरु गुड्न ढिलो भएको रेलमा चढ्न भागदौंड गर्दा घटना भएको थियो ।
रेलवे स्टेशनमा यात्रुको चप्पल, जुत्ता, व्याग, लुगाफाटा यत्रतत्र छरिएका छन् ।
अहिलेसम्म मृत्यु हुनेमा ९ महिला, ५ बालबालिका र ४ जना पुरुषको शब भेटिएको छ । पाँच दर्जनभन्दा बढीको संख्यामा गम्भिर घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । भागदौंगमा दर्जनौंको संख्यामा बेहोस भएका महिला र बालबालिकालाई स्थानीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।
यो घटना प्रयागराजको प्लेटफर्म १३ र १४ मा भएको थियो । प्रयागराज एक्सपे्रस १४ नम्बर प्लेटफर्ममा र अर्कोतर्फ स्वतन्त्रता सेनानी एक्सप्रेस र भुवनेश्वर राजधानी एक्सप्रेस प्लेटफर्म नम्बर १२ र १३ मा थियो ।
प्रति घण्टा १५०० को दरले सामान्य टिकट विक्री भएको थियो । एउटा रेलवेमा चढ्नु पर्ने यात्रुहरु भागदौंड गरेर अर्को रेलवेमा चढ्न प्रयास गरेपछि यो घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।