कोशी सरकार स्थापनाको सात वर्ष पुरा

झापा । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष पूरा भएको छ । त्यस अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोह आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ । सरकार स्थापनामा आयोजना गरिएको समारोहमा सरकार स्थापनाको सात वर्षमा भएका उपलब्धीहरू समेटिएको हाते पुस्तक विमोचन गरिएको छ ।

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्तरूपमा ‘कोशी प्रदेश सरकारको सात वर्ष’ नामक पुस्तक विमोचन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट जनताको विकासको आकाङ्क्षा पूरा गर्न यो व्यवस्था सफल हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारबाट उल्लेखनीय प्रगति भइरहेको विश्वास व्यक्त गर्दै जनताको विकासको आकाङ्क्षा पूरा गर्न, जनताको हित, सामाजिक न्याय, नागरिक स्वतन्त्रता र सेवा प्रवाहको क्षेत्रमा सुधार हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री हिकम्तकुमार कार्कीले सात वर्षसम्म प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको क्षेत्रलाई ध्यानमा राखेर काम गरिरहेकोमा अब मानवीय र सामाजिक क्षेत्रको विकासलाई पनि सँगसँगै अगाडि बढाउने बताए । ‘‘हामीले अहिलेसम्म बाटो, पुल झोलुङ्गेपुलहरू मात्र बनाइरहेका छौं । अब मानवीय र सामाजिक काममा अब ध्यान दिनेछौं र यी कामहरूलाई पनि सँगसँगै अगाडि बढाउने छौं,’’ मुख्यमन्त्री कार्कीले भने । उनले स्थानीय तहसँगको सहकार्यलाई बढाउने, उनीहरूलाई दिनुपर्ने अधिकार र सहयोगहरू दिने र आपसी समन्वयलाई बढाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।


सरकारले गरेका कामहरूको सकारात्मक र आलोचनात्मक टिप्पणी सरकारका लागि महत्त्वपूर्ण रहेको भन्दै सरकारबाट भएका कमजोरी औंल्याइदिन उनले विशेष आग्रह गरे । प्रदेश सरकारले सीमित जनशक्तिबाट प्रदेशमा सेवा प्रवाह गरिरहेको भन्दै उनले भने, ‘‘हामीले ५० प्रतिशत जनशक्तिको माध्यमबाट यी कामहरू गरिरहेका छौं, अब आगामी वर्षभित्रमा ७० प्रतिशत जनशक्ति पु¥याएर प्रदेशको कामलाई प्रभावकारी बनाउने लक्ष्य लिएका छौं ।’’

प्रदेश सरकारले राजस्व सङ्कलन गर्न र त्यसको दायरा विस्तार गरी प्रदेशको आय बढाउन आन्तरिक राजस्व कार्यालय स्थापना गर्ने तयारी गरिरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । उनले आन्तरिक राजस्व कार्यालय स्थापना गर्ने प्रहल नयाँ भएको र कोशी प्रदेशले त्यसका माध्यमबाट चालु वर्षमै लक्षित आय प्राप्त गर्ने दाबी गरे । ‘‘यो नयाँ पहल र उचाइ हो । यसका माध्यमबाट आन्तरिक राजस्वको लक्ष्य प्राप्त गर्नेछौं,’’ मुख्यमन्त्री कार्कीले भने , ‘‘राजस्व नबढाउँदासम्म विकासको लक्ष्य पूरा गर्न नसक्ने भएकाले करको दर होइन दायरा बढाएर बढीभन्दा बढी राजस्व सङ्कलन गर्ने आधार तयार पार्न सरकार क्रियाशील छ ।’’

मुख्यमन्त्री कार्कीले प्रदेश योजना आयोगलाई अर्थमन्त्रालयभित्र सङ्कुचनमा राखिएको भन्दै अब त्यसलाई पूर्णरूपमा काम गर्नसकिने गरी अगाडि बढाउने पनि बताए । प्रदेश योजना आयोगले योजना बैँकको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको र धेरै कामहरू भइरहेको भन्दै त्यसलाई स्वतन्त्ररूपमा अझ प्रभावकारी बनाउने सरकारको योजना रहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको कामलाई मुख्य प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
241
सम्बन्धित

लोकप्रिय

लोकप्रिय