बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका फाइनल पुग्ने पहिलो टोली बनेको छ ।
स्थानीय डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ३-२ गोलले पराजित गर्दै कन्काई फाइनल पुगेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २-२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो ।
कन्काइका लागि एलेक्स चौधरी, वर्षा मगर, शुशिला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको प्रहार गोलमा परिणत हुँदा वर्षा ओली, करूणा बुढाथोकी र बबिता कार्कीको प्रहार खेर गएको थियो ।
खेलको प्लेयर अफ दी म्याच कन्काइकी शुशिला चौधरी घोषितहुँदै नगद ५ हजार पाउन सफल भइन् । भोलि (शनिबार) अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।