चारआली जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइँदै

झापा । झापाको चारआलीमा जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइने भएको छ ।

पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन अतिक्रमण गरी बनाइएका टहरा भोलि भत्काइने भएको हो । डिभिजन वन कार्यालयले पटक पटक दिएको सूचनालाई बेवास्ता गरेपछि भोलि भत्काइने डिभिजन प्रमुख मेघराज राईले बताए ।

प्रगति सामुदायिक वनमा अतिक्रमण गरी २४ वटा घुम्ती र टहरा बनाइएको छ । वन क्षेत्रलाई अतिक्रमण गरी विभिन्न व्यक्तिहरुले त्यहाँ व्यापार व्यवसाय गर्दै आएका छन् । गत असारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले हटाउने निर्णय गर्दै पहिलो सूचना जारी गरेको थियो । त्यसपछि दोस्रो पटक एक महिने सूचना जारी भएको थियो । त्यस अवधिभित्र पनि नभत्काएपछि गत माघ २४ गते ७ दिने तेस्रो तथा अन्तिम पटक सूचना जारी गरिएको थियो ।


घर भत्काउनुअघि डिभिजन वन कार्यालयले केही दिनदेखि माइकिङ गरिरहेको डिभिजन प्रमुख राईले जानकारी दिए । ‘ पटक पटकको आग्रहलाई बेवास्ता गरी अटेर गरेपछि वन क्षेत्र खाली गराउने निर्णय गरेका छौं’ डिभिजन प्रमुख राईले भने,‘ भोलि नै त्यो ठाउँ खाली गराउँदै छौं ।’

प्रगति सामुदायिक वनकै जग्गा अतिक्रमण गरी पाउ पाथीभरा मन्दिर र किरातहरुको धार्मिक स्थल बनाइएको छ । ती धार्मिक स्थलहरुको सम्बन्धमा कार्ययोजना बनाई केही आम्दानी वन उपभोक्ता समितिलाई दिनुपर्ने निर्णय गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
391
सम्बन्धित

लोकप्रिय

लोकप्रिय