काठमाडौं । इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् ।
यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए ।
ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि मंगलबार युद्ध अन्त्यको चेतावनी दिएका हुन् ।
सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो ।
यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो । एजेन्सी