काठमाडौँ । काठमाडौँ महानरपालिका–७ चाबहिलस्थित कुमारीगालमा चोरीको मोबाइल लिन दुई पक्षबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ।
आइतबार (माघ २७ गते) बिहान ५ बजे दुई पक्षबीच झडप हुँदा चक्कु प्रहारबाट २३ वर्षीय अमृत भन्ने संघर्ष कार्कीको मृत्यु भएको हो। उक्त घटनाको मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।
चोरीको मोबाइल धेरै महँगो पर्ने पनि नरहेको काठमाडौँ प्रहरी परिसरका एसपी प्रवक्ता तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए।
‘एउटा समूहले सानो मोबाइल चोर्छ। मोबाइल चोरेको अर्को पक्षले देख्छ। त्यही मोबाइल कसले लैजाने भन्नेमा विवाद हुँदा चक्कु हानाहान हुन्छ। र एक जनाको मृत्यु हुन्छ। अर्का घाइते हुन्छ’, बोहोराले पत्रकार सम्मेलनमा भने।
दुई समूहबीचको झडपबाट अमृत र १९ वर्षीय क्षितिज कार्की घाइते भएका थिए। तत्काल प्रहरी घटनास्थल पुगेर उनीहरूलाई उपचारका लागि केएमसी अस्पताल लगिए पनि अमृतको भने सोही दिनको साँझ ७ बजे मृत्यु भएको थियो।
कार्कीलाई भने उपचारपश्चात डिस्चार्ज गरेर प्रहरी वृत्त गौशालामा राखिएको छ। अमृतको घर काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ९ पानीट्याङ्की भई हाल काठमाडौँको गोकर्णेश्वर नगरलपालिका ६ मा बस्दै आएका थिए।
कार्कीको घर झापाको भद्रपुर नगरपालिका २ घर भई उनी पनि गौकर्णेश्वर ६ मा नै बस्दै आएका थिए। कार्कीसहित प्रहरीले अन्य थप २ जनालाई पनि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका १ घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीय युनिक लामा भन्ने नुर्वु शेर्पा र सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ८ घर भई हाल गोकर्णेश्वर ८ बस्ते २० वर्षीय विशाल तामाङ रहेका छन्।
एसपी बोहोराकाअनुसार सोही घटनाका अर्का एक जना भने फरार छन्। फरार रहेका व्यक्तिको ट्र्याकिङ भइसकेको र आज वा भोलिसम्ममा पक्राउ गरिसकिने उनले बताए।
पक्राउ परेकाहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। देश सञ्चारबाट