अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा सम्पन्न भएको तेस्रो यु–१८ वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा–६ ले जितेको छ ।
शनिश्चरे एफसी अर्जुनधारा झापाको आयोजना र अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा अर्जुनधारा ७ स्थित खेलमैदानमा आज भएको फाइनल खेल अर्जुनधारा–८ लाई १–० गोल अन्तरले पारजित गर्दै अर्जुनधारा–६ ले उपाधि जितेको हो ।
अर्जुनधारा–६ लाई जित दिलाउन साहिल तामाङ खेलमा एकमात्रै गोल गरे । खेलको ३३ औं मिनेटमा उनले विपक्षीको पोष्टमा गरेको गोल नै फाइनल खेलको निर्णायक गोल बन्यो । रोमाञ्चक बनेको फाइनल खेलको दोस्रो हाफमा अर्जुनधारा ८ ले आक्रमक प्रदर्शन गरेपनि गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझायो ।
उपाधि जितेको अर्जुनधारा–६ ले नगद ५० हजारसहित आकर्षक ट्रफि र प्रमाणपत्र पायो । उपविजेता बनेको अर्जुनधारा–८ ले नगद ३० हजारसहित आकर्षक ट्रफि र प्रमाणपत्र पायो । विजेता उपविजेतालाई झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
विजयी टिम अर्जुनधारा–६ का साहिल तामाङ सर्वाधिक गोलकर्ता बने । त्यस्तै विजयी टिमकै अमन दनुवार म्यान अफ दि म्याच, अर्जुनधारा–७ का अनमोल लिम्बू उत्कृष्ट गोलरक्षक, अर्जुनधारा–८ का लक्कीराज हेमरन उत्कृष्ट डिफेन्स, अर्जुनधारा–८ कै सोङ तामाङ उत्कृष्ट मिडफिल्डर, अर्जुनधारा–६ का भिम राई उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले नगदसहित ट्रफि पुरस्कार पाए । त्यस्तै अर्जुनधारा–८ का क्षितिज अधिकारीले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाए ।
अर्जुनधारा–१ का गाणेश गजमेरले बर्षोत्कृष्ट खेलाडीको पुरस्कार पाए । उनलाई आयोजकले नगद १५ हजार बराबरको साइकल प्रदान गर्यो ।
प्रतियोगितामा नगरपालिकाभित्रका ११ वटा वडाका टिमको सहभागिता रहेको थियो । प्रतियोगितालाई हरेक बर्ष शनिश्चरे फुटबल क्लबले आयोजना गर्दै आएको छ ।