बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिकाको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा दमक नगरपालिकालाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
दमक नगरपालिकाको पोस्टमा गोल वर्षा गर्ने क्रममा जेनिफर राना मगर र मेनुका मगर खतरा सावित भए । अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन भने २ गोल मेनुका मगरको नाममा रह्यो ।
एकोहोरो दबाब झेलेको दमकविरुद्ध पहिलो हाफमै ६-० गोलको फराकिलो अन्तर अर्जुनधाराले निकालेको थियो । जसमा जेनिफरले ४ र मेनुकाले २ गोल गरेकी थिइन् । जेनिफारले खेलको ३, ७ र १७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, २६ मिनेट र ५८औँ मिनेटमा जेनिफरले थप गोल गरेकी हुन् । मेनुकाले २० र २२औँ मिनेटमा गोल गरेकी थिइन् । जेनिफरले प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाइन् ।
भोलि आयोजक बिर्तामोड नगरपालिकाले पहिलो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने छ ।