झिलझिले । शिवसताक्षीको दुधे आयुर्वेद औषधालयले वडा नम्बर ८ मा वडा स्तरीय नागरिक आरोग्य समुहलाई स्वस्थ जीवनशैली, योग एवम स्थानिय जडिबुटीको प्रयोग सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम हिजो सम्पन्न गरेको छ ।
स्थानिय नागरिकलाई आयुर्वेद, योग तथा जडिबुटिको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकासका लागि कार्यक्रम संचालन गरिएको कविराज निरिक्षक राजेन्द्र पोख्रेलले बताए । उनले सर्ने र नसर्ने रोगहरुको प्रकोपलाई न्यूनिकरण गरी स्वस्थ समाज निर्माण गर्न सहयोग पुर्याउने उद्धेश्यले नागरिक आरोग्य कार्यक्रम नगरका सबै वडामा सञ्चालन भएको बताए ।
कार्यक्रममा स्थानिय स्तरमा पाइने जडिबुटीहरुको पहिचान, उपयोगिता, मात्रा प्रयोग, स्वस्थ जीवनशैली, सन्तुलित आहार, आयुर्वेद स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य सेवा तथा रोग अनुसार योग र ध्यान सम्बन्धी छलफल तथा प्रयोगात्मक अभ्यास गरिएको थियो ।
प्रत्येक घरका भान्साबाट मानिसको जीवन शैलि परिवर्तन गराउन सकिने उनले बताए । कति बेला खाने, कति खाने, कसरी खाने, के मा खाने, कति आराम गर्ने, कति काम गर्ने लगायतका विषयमा वडाका नागरिकलाई जानकारी गराईएको कविराज निरिक्षक पोख्रेलले बताए ।
हरेक नागरिकले खानपान र जीवन शैलि परिवर्तन गर्न नसक्दा उमेरमै विभिन्न प्रकृतिका रोगहरुले गाज्न थालेको छ । नयाँ रोगबाट बच्न र शरिरको रोग प्रतिरोधात्मक क्षमता वृद्धी का लागि योग, खानपान र जीवन शैलि परिवर्तन सबैभन्दा उत्तम उपाय भएको उनले बताए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, महिला स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुहका प्रतिनिधीहरु, जननिर्वाचित प्रतिनिधीहरु, समाजसेवी, वुद्धिजिवी, सञ्चारकर्मी लगायत २५ जनाको सहभागिता रहेको थियो ।
झिलझिले स्थित किरात राई यायोख्खाको सभाहलमा आयोजिक कार्यक्रमको सहजिकरण दुधे आयुर्वेद औषधालयका कविराज पोख्रेलले गरेका थिए ।