बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि अन्तरपालिका महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नगर खेलकुद विकास समिति बिर्तामोडले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम तय भएको छ । आगामी फागुन ५ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको आज हुने उद्घाटन खेलमा बुद्धशान्ति गाउँपालिका र आयोजक बिर्तामोड नगरपालिकाबीच प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो। खेलकुद विकास समितिका सचिव विसन लिम्बूका अनुसार डोमालाल राजवंशी रंगशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहेको छ ।
यसैबीच, प्रतियोगिताको उद्घाटनअघि क्रिकेट प्रतियोगिता जित्ने पालिकाका खेलाडीहरुलाई ५० हजार नगदसहित पुरस्कृत गरिने क्रिकेट संयोजक विशाल अग्रवालले जानकारी दिनुभयो ।