शिवसताक्षीमा लोकप्रिय बन्यो ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम

शिवसताक्षी । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम लोकप्रिय बनेको छ। नगरप्रमुखलाई प्रत्यक्ष आफ्ना कुरा राख्न पाउँदा नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

आज शिवसताक्षीको दूधेमा भएको कार्यक्रममा नगरका ज्येष्ठ नागरिकहरुले आफ्ना समस्या र गुनासहरु खुलेरै राखेका छन् । शिवसताक्षीको दूधेमा रहेको ज्येष्ठ नागरिक भवनमा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले हाम्रो पनि स्थानीय निकाय रहेछ । हाम्रा कुराहरु सुन्नकै लागि कार्यक्रमको आयोजना गरिएकोमा नगरप्रमुखलाई धन्यवाद दिएका छन् ।

ज्येष्ठ नागरिकहरुले नगरप्रमुखसँग आफ्ना कुरा राख्दै भने हामी बृद्ध बृद्धाहरुलाई कुनै पनि सरकारी निकायमा जाँदा मान्छे नै गन्दैनन् । गाडीमा यात्रा गर्दा त्यतिकै समस्या छ । सरकारले दिएको सवारी साधनमा दिइने छुट पनि दिदैनन् बरु बसका कन्डक्टरले हप्काउँछन् । बृद्ध भत्ता आउँछ त बुढा पैसो तिर्नु पर्देन भन्ने गरेको कार्यक्रममा सहभागीहरुले नगरप्रमुखसँग गुनासो गरे । उपचारका लागि सरकारले दिएको वीमा सौलियतको रेफर सुरुङ्गाबाट लिनु पर्ने बाध्यता किन रहयो । ज्येष्ठ नागरिकहरुले आफ्ना छोरा छोरी नाति नातिनाहरु लागु औषध दुव्र्यसनीमा फस्दा आफुहरु असुक्षित हुने भन्दै नगरप्रमुखलाई त्यस्तो गतिविधी रोक्न कडा कदम चाल्न सुझाब दिएका छन् । नगरपालिकाले वर्षेनी ज्येष्ठ नागरिकका लागि छुट्याइको बजेटबाट तिर्थाटन गर्दा व्यवस्थापन राम्रो नभएको, सबै वडाहरुमा ज्येष्ठ नागरिक चौतारी तथा भवन नभएको समेत कुरा राखेका थिए ।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरका ज्येष्ठ नागरिकहरुलाई भेट्ने, उहाँको कुरा सुन्ने र उहाँहरुको समस्याहरुको समाधान गर्ने उद्देश्यले ज्येष्ठ नागरिक नगर समितिले कार्यक्रम आयोजना गरिएको बताए । उनले ज्येष्ठ नागरिकका अनुभव, योग्यता, समाजलाई सही मार्गदर्शन दिने ज्ञान, सीप र क्षमता रहेको बताए । उनले भने, ज्येष्ठ नागरिकले समाज, परिवार, देशलाई दिनु भएको योगदानको उच्च सम्मान छ । अब ज्येष्ठ नागरिकहरु आफ्नो जीवनको उद्धार्धमा आइपुग्दा हामीले पनि केही दिन सक्छौ भन्ने भावना जागृत भएको नगरप्रमुखले बताए । नगरप्रमुखले ठट्यौली गर्दै भने, म पनि ५२ वर्षको भए, अब केही वर्ष पछि तपाइँहरु जस्तै ज्येष्ठ नागरिकको रुपमा हुनेछु । त्यसबेलाका लागि पनि मैले अहिले तपाइँहरुका लागि कुनै कुनै नयाँ काम गर्नेछु । आउँदो दशैमा हुने तपाईँहरुले सरप्राइज पाउनुहुने छ ।

ज्येष्ठ नागरिकको गुनासहरुको जवाफ दिदै नगरप्रमुखले वीमा उपचार रेफरका लागि शिवसताक्षीका उत्तरी क्षेत्रका लागि सुरुङ्गाबाट सेवा लिन सजिलो र दक्षिणी भेगका लागि शिवसताक्षीको शिवगञ्ज स्वास्थ्य केन्द्रबाट दिने व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिकको उपचारका लागि दमक तथा विर्तामोड सम्म जानु पर्ने बाध्यता हटाउन शिवसताक्षीको शिवगञ्ज अस्पतालमा पाँच जना डाक्टरहरुको व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।

अस्पताल सञ्चालन गर्न भवनले पूर्णता नपाएको केही प्राविधिक समस्या छन् त्यसको समाधान गरेपछि शिवसताक्षी मै उच्च स्तरको सेवा प्रदान गरिने छ। सवारी साधनमा ज्येष्ठ नागरिकहरुलाई दुव्र्यवहार र छुट नदिएको विषयमा झापाका सबै स्थानीयतहका प्रमुखहरुसँग समन्वय गरी सिडिआसँग कुरा राख्ने र यातायात व्यवसायी छलफलबाट टुंग्याउने उनले बताए । माधक पदार्थ तथा लागु औषध विरुद्ध अभियान चलाउन १५ पालिकाको समन्वयमा जिल्ला व्यापी रुपमा कार्यक्रम गर्ने छलफल भइरहेको छ । एउटा मात्र पालिकामा नियन्त्रण गर्दा मिछेकी पालिकामा गएर सेवन गर्ने भएकाले जिल्ला व्यापीरुपमा कार्यक्रम गर्नु पर्ने नगरप्रमुखले बताए । नगरप्रमुखले ज्येष्ठ नागरिकहरु घरमा समस्या भए एक्लै कुरा राख्न समेत सुविधा दिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबोले ज्येष्ठ नागरिकहरु दिउँदो भगवान भएकाले तपाईहरुको योगदान, दुःख र मेहनतले आज हामी यहाँसम्म आइपुगेको बताए । वडाबाट ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, विभिन्न मोठ मन्दिरहरुमा तीर्थ यात्रा गराइरहेको जानकारी दिए । उनका अनुसार ज्येष्ठ नागरिकहरुका लागि वडाले वर्षेनी एक लाख बजेट विनियोजन गर्दै आएको छ।

कार्यक्रममा वडा नं. ८, ९, १० र ११ का दुई दुई जना ८० वर्ष माथिका बृद्ध बृद्धालाई सम्मान गरिएको थियो । सम्मानित हुने हरुमा सागरनाथ चापागाइँ, लक्ष्मी अधिकारी, मनमाया जवेगु, सत्य नारायण चौधरी, कृष्णध्वज लिङदेन, चन्द्रकला भट्टराई, कौशिला खनाल, र पदपप्रसाद जवेगु रहेका छन् । ज्येष्ठ नागरिकका तर्फबाट अम्बिका अधिकारी, पुन्य प्रसाद मैनाली, गेहनाथ नेपाल, विदनिधी रिजाल, यामप्रसाद अधिकारी, तेजबहादुर भट्टराई, जयश्वर आङ्गदेम्बे, पदमप्रसाद जवेगुले ज्येष्ठ नागरिकका समस्या र गुनासाहरु राखेका थिए । ज्येष्ठ नागरिक ११ नं. वडा समिति अध्यक्ष मित्रप्रसाद थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ज्येष्ठ नागरिक नगर उपाध्यक्ष नरपति पाठकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
183
सम्बन्धित

लोकप्रिय

लोकप्रिय