बिर्तामोड । झापाको बिर्तामोड-४ स्थित भद्रपुररोडमा सञ्चालनमा आएको आरआर पोलिक्लिनिकमा कोशी प्रदेशमै पहिलोपटक डिएम मधुमेह, थाइराइड र हर्मोन विशेषज्ञ सेवा सुरु भएको छ ।
आरआरमा भारतको पिजिआई चण्डीगढ र एम्स अस्पताल दिल्लीबाट मधुमेह, थाइराइड र हर्मोन रोगमा विद्यावारिधि गरे आएका विशेषज्ञ डक्टर प्रसिद्ध ढकालको दैनिक सेवा सुरु गरेका छन् ।
पोलिक्लिनिकमा डक्टर ढकालले माघ ६ गतेबाट सेवा दिन सुरु गरेको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोलिक्लिनिकले कोशी प्रदेश एक मात्र मधुमेह अर्थात सुगर, थाइराइड र हर्मोन सम्बन्धी जुनसुकै रोगको विशेषज्ञद्वारा उपचार सुरु गरेको जनाएको छ ।
डिएम इन्डोक्रोनोलोजी तथा डाइबेटिज डक्टरको आगमनसँगै अब इन्सुलिन लगाउने, सुगर नियन्त्रणमा नरहने, मधुमेह र गर्भावस्थाको मधुमेह भएका रोगीहरुले राम्रो उपचार पाउने पोलिक्लिनिकका अध्यक्ष महेन्द्रबहादुर राईले बताए ।
उनका अनुसार पोलिक्लिनिकमा यसबाहेक मधुमेहको अत्याधुनिक उपचारसँगै सिजिएमएस र इन्सुलिन पम्पको सेवा लिन भारत जानुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । यस्तै रेडयोएक्टिभ आयोडिन थेरापी गर्न चाहने व्यक्तिले पनि परामर्श लिन सक्नेछन् ।
पोलिक्लिनिकमा थाइरोइड, पाराथाइरोइड, प्यान्क्रियाज, एड्रेनल र पिठ्युटरी ग्रन्थी ट्युमर भएका व्यक्तिहरूको पनि उपचार हुने अध्यक्ष राईले बताए ।
विशेषज्ञ डाक्टरको आगमनसँगै क्लिनिकले हर्मोन जाँचसम्बन्धी अत्याधुनिक मसिन पनि भित्र्याएको छ । अब हर्मोनसम्बन्धी अधिकतर जाँचहरू क्लिनिकमै सम्भव भएको छ र नहुने केही मात्र हर्मोनका जाँचहरु काठमाडौँ वा भारतका विशिष्ट ल्याबहरुमा पठाउने व्यवस्था क्लिनिकले मिलाएको बताइएको छ ।
त्यसैगरी, डायबेटिज एजुकेसनको सुविधा पनि दैनिक रुपमा उपलब्ध हुनेछ । जसमा बिमारीहरूलाई इन्सुलिन लगाउने र घरमा सुगर जाँच्ने विधि, कम सुगरको व्यवस्थापन, खानपान र व्यायामसम्बन्धी सुझावहरू दैनिक रुपमा दिइने बताइएको छ ।
पत्रकार सम्मेलनमा डक्टर प्रसिद्ध ढकाल, मानसिक रोग विशेषज्ञ डक्टर बबिता शर्मा, छाला रोग विशेषज्ञ डक्टर रोहित पञ्जियारलगायतले आआफ्नो भनाइ राखेका थिए भने अध्यक्ष राईले पोलिक्लिनिकमा उपलब्ध सेवा र उपकारणका बारेमा जानकारी गराएका थिए ।