बिर्तामोड । चौतर्फी विरोध भएपछि प्रहरी प्रशासनले झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ ।
जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अबदेखि खेलाउन नदिने भएको हो । माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले रोक लगाएको हो ।
महोत्सवको दोस्रो दिन हाउजीका लागि माइकिङ गरेदेखि नै विरोध शुरु भएको थियो । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले तेस्रो दिन हाउजी खेलाएकोमा त्यसपछि प्रहरी प्रशासनले खेलाउन प्रतिबन्ध लगाएको हो ।
त्यसैगरी आगामी फागुन ७ देखि १७ गतेसम्म बिर्तामोड १० सैनिकबजारमा आयोजना गर्नेगरी सैनिक महोत्सवको अनुमति लिन जाँदा जिल्ला प्रशासन कार्यालयले हाउजी खेलाउने अनुमति नदिएको आयोजकले जनाएको छ ।
हाउजी जुवाजन्य खेल भएको भन्दै चौतर्फी विरोध आएपछि हाउजी खेलाउन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।