काठमाडौं । फ्रेन्चाइजको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली एनकेएलको पहिलो च्याम्पियन बन्ने होडमा छन् ।
एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा जनकपुर र काठमाडौं उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक छन् । शुक्रबारको फाइनलपछि एनकेएलले विजेता पाउनेछ तर त्यसका लागि फाइनलको प्रतिक्षा गर्नुपर्नेछ ।
नेपाली राष्ट्रिय महिला टिमकी मुख्य प्रशिक्षक पार्वती राईले हाँकिरहेको जनकपुर नाइट्स पूरा प्रतियोगिताकै एक मात्र अपराजित टिम हो र उत्कृष्ट लयमा रहेको छ । लिग चरणमा जनकपुरले ४ खेल जित्दा १ बराबरी खेलेको थियो । त्यो बराबरी पनि काठमाडौंसँग नै थियो । त्यसैले पनि फाइनल अझ रोमाञ्चक हुने अपेक्षा छ ।
फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६:३० बजे सुरु हुनेछ । त्यसअघि गायिका डाक्टर त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिनेछिन् ।