काठमाडौँ। आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । गोलकिपर दिप कार्कीले पेनाल्टीसुटआउटमा उत्कृष्ट प्रदर्शन गरपछि संकटा एफसीले उपाधि कब्जा गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाईनलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४-३ ले पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा पुगेको थियो ।
आयोजक टिमका गोलकिपर विशेकले संकटाको सुरुवाती दुई पेनाल्टी प्रहार बचाउँदै सानदार सुरुवात गरेको थियो । तर खेलले नाटकिय मोड लिँदा नतिजा संकटाकोपक्षमा गयो । संकटाका लागि लक्षु थापा, साम कार्लोस, दिप कार्की र सुनिल खड्काले गोल गरे ।
संकटाका गोलकिपर दिप कार्कीले बागमतीका कुलदिप कार्की र गौरव श्रेष्ठको प्रहार बचाएका थिए । बागमतीका रजत तिवारीको प्रहार पोष्ट भन्दा बाहिर गयो । त्यसअघि निर्धारित समयमा दुवै टोलीले गोलका लागि अवसर बनाउन सकेनन् । दुवै टोली फिनिसिङ थर्डमा चुकेको थियो ।
प्रतियोगिताको विजेताले नगद २६ लाख हात पार्यो । उप विजेताले १३ लाख रुपैयाँ नगदै पायो ।