झापा । पशुलाई जस्तो आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१५ वर्षीया छोरी स्वस्तिका विष्टलाई निर्घात कुटपिट गर्ने बिर्तामोड ९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिने निरकुमार विष्टलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
साथीसंग घुम्न हिडेकी भन्दै विष्टले छोरीलाई कोठा थुनेर पिलासले टाउको फुटाइदिएका छन् भने भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका छन् ।
आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको विष्टकी श्रीमती रेनुका विष्टले बताइन् ।
यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको एक छिमेकीले बताए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
विष्टलाई हिजै पक्राउ गरी राखिएपनि आजसम्म जाहेरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सन्तोष राईले बताए । प्रतिदिनबाट