बिर्तामोड । झापाका विभिन्न स्वास्थ्य संस्थाहरुमा दातृ संस्था हेल्पिङ हेण्ड (युएसए) ले अस्पतालजन्य सामग्री प्रदान गरिरहेको छ । वर्क फर नेपालको स्थानीय व्यवस्थापनमा हेल्पिङ हेण्डले अस्पतालजन्य सामग्री प्रदान गर्दै आएको हो ।
बिर्तामोड नगर अस्पतालमा आज सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा अस्पतालजन्य सामग्री हस्पतान्तरण गरिएको छ । बिर्तामोड नगर अस्पताललाई वर्थिङ वेड, इसिजी, सर्जिकलका सामान, अक्सिजन कन्सन्ट्रेटर लगायतका अस्पतालजन्य सामग्री प्रदान गरिएको हो । वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीका अनुसार बिर्तामोड नगर अस्पताललाई ६८ लाख ६८ हजारको सामग्री प्रदान गरिएको छ ।
यस्तै, सभामुख घिमिरेबाट खुदुनावारी स्वास्थ्य चौकीलाई सोही प्रकारका २५ लाख १४ हजार बराबरको अस्पतालजन्य सामग्री प्रदान गरिएको अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीले दिएको जानकारी अनुसार प्रादेशिक आयुर्वेदिक अस्पताललाई कमलमा मंगलवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट ४१ लाख ५४ हजार बराबरको सामग्री प्रदान गरिएको छ भने बिहीवार कुमरखोदमा रहेको स्वास्थ्य चौकीलाई ३६ लाखभन्दा बढि रकमको अस्पतालजन्य सामग्री हस्तान्तरण गरिने बताइएको छ ।
बिर्तामोड नगर अस्पतालमा सामग्री हस्तान्तरण गर्दै सभामुख देवराज घिमिरेले बिर्तामोड शिक्षा र स्वास्थ्य क्षेत्रमा हबका रुपमा विकास भइरहेको बताउनुभयो । ठुला निजी अस्पतालसँग प्रतिष्पर्धा गर्दै सहुलीयत रुपमा नगर अस्पतालले स्वास्थ्य सेवा प्रदान गरिरहेकोमा धन्यवाद दिनुभयो । अस्पताल स्थापनादेखि नै स्वास्थ्य उपचार सेवामा नगर अस्पतालले दिइरहेको सेवाप्रति खुशी व्यक्त गर्दै सभामुख घिमिरेले भन्नुभयो – सुलभ रुपमा उपचार सेवा प्रदान गर्दै यहाँका निजी अस्पतालहरुसँग प्रतिष्पर्धा गर्न सक्ने विश्वास गरेको छु । सरकारी स्वास्थ्य संस्थामा नगर अस्पतालले अब्बल संस्थाको रुपमा स्थापित हुनुपर्ने उहाँको धारणा थियो ।
‘जहाँ इच्छा, त्यहाँ उपाय’, उहाँले थप्नुभयो– बिर्तामोड नगर अस्पताल ठुलो आँट र हिम्मतका कारण यहाँसम्म आइपुगेको छ । बाँकी दिनहरुमा प्रभावकारी रुपमा सेवा दिन सक्नुहोस्, निजी अस्पताललाई प्रतिष्पर्धा गर्न आउने बनाउनुहोस् । त्यसका लागि सहयोग गर्न तयार छु ।
उपचार सेवालाई प्रभावकारी बनाउदै जान आग्रह गर्दै सभामुख घिमिरेले अस्पताल स्थापित गर्ने मुख्य दायित्व नगरपालिकाको भएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले विगतको तुलनामा स्वास्थ्य संस्थाले उल्लेख्य प्रगति हासिल गरेको बताउनुभयो । नगर अस्पताललाई कमजोर बनाउने उद्देश्यले विगतमा विभिन्न समस्याहरु आएपनि त्यसलाई चिरेर अघि बढेको उहाँको भनाई थियो । नगर अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने दातृ संस्थाहरुलाई धन्यवाद दिदैं उहाँले स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउने धारणा व्यक्त गर्नुभयो ।
स्वास्थ्यकर्मीहरुको मनोवललाई उच्च बनाउदै नगरबासीको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कतिपय उपकरणहरु सञ्चालन गर्न दक्ष जनशक्ति अभाव भएकाले ढिलाई भएको जानकारी दिदैं अब तत्कालै सञ्चालन गर्ने जानकारी दिनुभयो ।
नगर अस्पतालबाट २४ घण्टा सेवा दिनका लागि आतुर रहेको बताउँदै उहाँले १२ घण्टा सेवा माघ २ गतेबाट सुरु भइसकेको जानकारी गराउनुभयो । अस्पतालमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि सेवा सुरु भइसकेको छ । अस्पतालजन्य सामग्री हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रमा गरिरहेको कामका बारेमा जानकारी गराउनुभयो । नगर अस्पतालका लागि सुविधा सम्पन्न शुद्ध खानेपानीको व्यवस्थापन मिलाईदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कोशी प्रदेशका सांसद चिन्तन पाठक, अस्पतालका मेसु डा. सुनिल अधिकारी लगायतले धारणा राख्नुभएको थियो ।