अपराजित यात्रा कायम राख्दै एपिएफले जित्यो महिला लिग

काठमाडौं। अपराजित रहँदै एपिएफ क्लबले एन्फा महिला लिगको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गरेको हो। एपिएफले लिगका १९ खेलमा १८ जित र एक बराबरीको नतिजा हात पार्‍यो। त्यो एक बराबरी लिग चरणमा पुलिसविरुद्ध नै थियो। तर, चौथो भेटमा भने पुलिसले त्यति सशक्त प्रदर्शन गर्नै सकेन।

एपिएफलाई लगातार उपाधि दिलाउन सविता रानामगरले दुई गोल गरिन्। यस्तै, सरु लिम्बू र अनु लामाले समान एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको थियो। तर, दोस्रो हाफको ६४औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो। अनिता केसीसँग तालमेल मिलाउँदै सरु लिम्बूले दिएको क्रसमा सविताले सहजै बललाई जालीको दिशा देखाइनन्।

त्यसको ६ मिनेटपछि नै सरुले नै अग्रता दोब्बर बनाइन्। रश्मिकुमारी घिसिङको हेडर बारमा लागेर फर्किएको थियो। त्यही बललाई डिफेन्डर अमृता जैशीसामुबाट सरुले फिनिसिङ गरिन्।

८४औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। प्रीति राईले मध्यभागभन्दा तलबाट दिएको लामो क्रसलाई उनले रन बनाउँदै सहजै गोलमा परिणत गरे। लगत्तै प्रीतिको प्रहार माथिल्लो बारमा लागेर फर्किएको थियो।

इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपिएफको ४-० को जित पक्का गरिन्। उनी ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
160
सम्बन्धित

लोकप्रिय

लोकप्रिय