झापा । बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ । माघ २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको भोलि बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कलशमा गंगाजल अर्पण गरेर निशान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।
बिहान ८ बजे बिर्तामोड ५ स्थित बालाजी मन्दिर परिसरमा आयोजना हुने कार्यक्रमकाबीच सभामुख घिमिरेले कलशमा गंगाजल अर्पण गरेपछि शोभायात्रा प्रारम्भ हुने र पाँच सयभन्दा बढी भक्तजनको सहभागितामा बिर्तामोड नगर परिक्रमापछि गायत्री मन्दिर परिसरमा पुगेर कलशयात्रा बिसर्जन हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक रोनक वंशलले जानकारी दिए । जसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आचार्य आशुुतोष खनालको संयोजनमा २१ जना ब्राम्हण र एक सय जना बटुक अनुष्ठानमा सहभागी रहने छन् ।
नेपाल तथा भारतका ख्यातिप्राप्त भजन गायकद्वारा दैनिक भजन कीर्तनको आयोजना गरिएको र स्थानीय भजन कीर्तन मण्डलीले समेत पाँच दिनसम्म भजन कीर्तन गर्ने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए ।
त्यस्तै अनुष्ठानमा सहभागी हुनेहरुका लागि दैनिक महाप्रसाद बितरण गरिने मन्दिर निर्माण समितिले जनाएको छ । माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको छ ।
माघ २१ गते विधिपूर्वक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन परिसरमा दाता परिवारहरु, बिर्तामोड नगरपालिका र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा अढाई करोडको लागतमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।
मन्दिर उद्घाटन गर्नुपूर्व मन्दिरको सजावट, शनिश्चरे रोड सरसफाईदेखि अनुष्ठान परिसरनजिकै घुम्ती शौचालय निर्माणको काम सम्पन्न भएको छ । मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिने भएको छ । जसका लागि स्पाइन एक्स हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।