झापा । झापा र इलाममा दुईजना व्यक्ति मृत फेला परेका छन् । बिर्तामोड नगरपालिका–९ बद्रीबारीमा अन्दाजी ४५ वर्षका बुधलाल महत्तो आज बिहान मृत फेला परेका छन्। आफ्नो घरनजिकै बाटोको छेउ डिलमा उनी मृत भेटिएका हुन्।
छिमेकीको बिहेघरबाट गएराति घर फर्कने क्रममा मदिरा सेवन गरेका महत्तो लडेको र उठ्न नसकी रातभर चिसोका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । उनी चढेको साइकल कच्ची बाटोमा र महत्तो डिलमा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
त्यस्तै इलाम सूर्योदय ७ सिस्ने बस्ने ३१ वर्षीय पुकार निरौला पनि मृत फेला परेका छन् । हिजो साँझ ६ बजे घरबाट हिडेका निरौला आज दिउँसो ३:३० बजे घरको दक्षिणपट्टि आफ्नै कुखुरा फारममा लडी मृत अवस्थामा फेला परेका हुन् । प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भैरहेको जनाइएको छ ।