ताप्लेजुङमा गोली लागेका ३ जनाको अवस्था गम्भीर, दर्जनौ प्रहरी घाइते

झापा। ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भएको प्रदर्शन हिंसात्मक बन्दा झडपका कारण चार जना प्रदर्शनकारी र १२ जना प्रहरी घाइते भएका छन्।

झडपका क्रममा प्रहरीले गोली चलाउँदा यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वा गम्भीर घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि उनीहरूलाई विराटनगरको नोबेल मेडिकल कलेजमा रिफर गरिएको छ। मंगल लावती सामान्य घाइते छन्।

केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार समूह’ले आइतबारबाट आन्दोलनको योजना बनाएको थियो। उक्त आन्दोलनलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी शनिवार नै पाथीभरा क्षेत्रको बलुडाडामा परिचालित भएका थिए। साँझ करिब ६ बजे प्रदर्शनकारीहरूले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको र प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले जानकारी दिए।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रदर्शनकारीले गुलेली र ढुंगा प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताए। शनिवार दिउँसो पनि अश्रुग्याँस प्रहारसहित प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम मङ्गलवारदेखि सुरु भएपछि तनाव सिर्जना भएको हो। स्थानीय पहिचान पक्षधरहरूले केबलकारले धार्मिक क्षेत्रको मौलिकता मेटिने भन्दै ‘नो केबलकार आन्दोलन’ सुरु गरेका छन्।

किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले राज्यले शान्तिपूर्ण आन्दोलनका क्रममा प्रदर्शनकारीलाई निशाना बनाई गोली चलाएको आरोप लगाएकी छन्। नागरिक समाज र राजनीतिक दलका नेताहरूले पनि प्रहरीको हस्तक्षेपको विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
198
सम्बन्धित

लोकप्रिय

लोकप्रिय