शिवसताक्षीमा २८६१ औं डुल्लु सोनाम ल्होसार मनाइने

शिवसताक्षी । झापाको शिवसताक्षीमा २८६१ औं डुल्लु सोनाम ल्होसार मनाइने भएको छ। नेपाल तामाङ घेदुङ शिवसताक्षीको आयोजनामा आगामी माघ १७ गते १९ गतेसम्म शिवसताक्षी ११ झिलझिले स्थित टाँसी धार्गेलिक गुम्बामा मनाइने भएको हो ।

नेपाल तामाङ घेदुङ संघ शिवसताक्षीले पत्रकार सम्मेलन गर्दै विभिन्न,झाँकीसहित सास्कृतिक कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार पर्व भव्य रुपमा मनाइने जानकारी गराइएको हो । कार्यक्रममा तामाङ समुदायका भेषभुषा प्रर्दशन गर्ने, राष्ट्रिय कलाकारबाट बेजोड प्रस्तुती रहने समेत बताइएको छ ।

झापा जिल्लाका विर्तामोड र दमक बीचको क्षेत्रलाई समेटेर लोसार पर्व मनाइने नेपाल तामाङ घेदुङ संघ शिवसताक्षीका अध्यक्ष नविन मुक्तानले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न करिब ८ लाखको अनुमान गरिएको अध्यक्ष मुक्तानले बताए । उनले भने, केही रकम नगरपालिकाबाट प्राप्त भएको छ । स्थानीय व्यवसायी,तामाङ्ग समुदाय, वैदेशिक रोजगारीमा गएको साथीहरुबाट सहयोगको अपेक्ष गरिएको छ ।

माघ १७ गते शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले कार्याक्रमको उद्घाटन गर्ने छन् । कार्यक्रमको समापन भव्य हुने आयोजकले जनाएको छ ।

लामो समयदेखि यस क्षेत्रमा छरिएर रहेका तामाङ्ग समुदायहरुले मनाउदै आएको यस वर्ष बृहत रुपमा मनाइने टाँसी धार्गेलिङ बौद्ध गुम्बाको अध्यक्ष डिके लामाले बताए । उनले कार्यक्रममा सम्पूर्ण तामाङ समुदाय र अन्य सबै जात जाति, समुदायहरुलाई समेत उपस्थितिका लागि अनुरोध गरेका छन् । कार्यक्रममा टाँसी धार्गेलिङ बौद्ध गुम्बाको व्यवस्थापन रहने बताइएको छ ।

पहिले उहिले पात्रोको चलन नहुँदा तामाङ समुदायमा १२ वर्षको अवधिलाई १२ पशु–पन्छी वर्षका रुपमा आत्मसात् गर्दै समयको मापन गर्दथे । घडीको साटो आकाशमा सूर्यको गति र अवस्था हेरेर समय र काल चाल पाँउथे । त्यसै बेलादेखि ल्होसार मनाउने परापूर्व आधारहरु खडा भएका हुन् ।

तामाङ समुदायबारे लेखिएका पुस्तकहरु अनि शोधहरु अध्ययन गर्दा ‘ता’ भन्नाले घोडा अनि ‘माङ’ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थ, साहसीहरुको समुदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि चिनिन्छन् । ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात् नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।

यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्वका साथ ल्होछार मनाउँछन् । यसरी नेपालको पहाडी र उच्च पहाडी भेगमा बसोवास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मुलक चीनसहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्छन् ।

तामाङहरुलाई प्रकृतिप्रेमी समुदायका रुपमा पनि चिनिन्छन् । विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्छन् । यस समुदायमा आज छोरी–चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ ।

सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित तिब्बतमा मनाइने पर्वसँग मिल्दोजुल्दो छ । चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्छन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार, तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङका अलवा अतिरिक्त यो पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँछन् ।

गुरुङले मनाउने ल्होछारलाई ‘तोला ल्होछार’, तामाङ लगायतका जातिले मनाउनेलाई ‘सोनाम ल्होछार’, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपालसहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
243
सम्बन्धित

लोकप्रिय

लोकप्रिय