अढाई करोड लागतमा झापाको बिर्तामोडमा बन्यो गायत्री मन्दिर

झापा । अढाई करोड रुपैयाँको लागतमा झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ ।

बिर्तामोड – ५ स्थित अग्रसेन भवन परिसरमा स्थानीय दानवीर परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण प्रारम्भ भएको थियो ।

मन्दिर निर्माण सम्पन्नसंगै बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको बताइएको छ । मन्दिर उद्घाटनसंगै गायत्री माताको आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिनुभयो । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा गर्नु अघि मन्दिर परिसरबाट निकालिएको शोभा यात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएसंगै माघ १७ गते प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको कार्यक्रम संयोजक वंशलको भनाई छ ।

माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिनुभयो ।

बैदिक सनातन र हिन्दू धर्म अन्तर्गत गायत्री मताको महत्वपूर्ण स्थान छ । गायत्री मातालाई जननी मानिन्छ । गायत्री मातालाई बेद माता पनि भन्ने गरिन्छ । माता पार्वती, माता सरस्वती, माता लक्ष्मीको अवतारको रुपमा समेत गायत्री मातालाई लिने गरिन्छ । ऋषि बिस्वामित्रले गायत्री माताका नाममा घोर तपस्या गरेर गायत्री मन्त्र प्राप्तगरी प्रचलनमा ल्याउनु भएको र आज पर्यन्त गायत्री मन्त्रको जप गरिँदै आएको बताइन्छ ।

ज्ञान र शक्तिको रुपमा लिइने वेद माताको स्मरण मात्रैले पनि सांसारिक जीवनका सबै प्रकारका कष्टहरुबाट मुक्ति मिल्ने र जीवनका हर मनोरथ पुरा हुने धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार आम विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
103
सम्बन्धित

लोकप्रिय

लोकप्रिय