पाथीभरामा बिबादका बिच केबलकार निर्माण सुरु

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी (मुकुम्लुङ) दर्शन केबलकार परियोजना निर्माण कार्य मंगलबार सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य सुरु भएको जानकारी दिएका छन् ।

जिल्लाका सबै राजनीतिक दलहरू, सांसदहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकायसमेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने इन्द्र केदेमले उल्लेख गरेका छन् ।

केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशे ढुङ्गा बन्ने बताउँदै केबलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने बताएका छन् ।

पौडेलले अबको १५ महिनभित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने विश्वास पनि दिलाएका छन् । यो केबलकारले अशक्त वृद्धवृद्धा तथा बालबालिका लगायतका भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने पनि सञ्चालक पौडेलले उल्लेख गरेका छन् ।

यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको संख्या १० लाख सम्म पुग्ने विश्वास कम्पनीले लिएको छ । केबलकार सञ्चालनले पाथीभरा देवीको दर्शनको मौका सबैले सहजै प्राप्त गर्दा भक्तजनको संख्या ह्वात्तै बढ्ने छ । यसका साथै केबलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्वस्तरीय पर्यटन उत्पादन र सेवा सुविधाहरू सहितको विश्व प्रसिद्ध एक अनुपम पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नका लागि सहयोग पुग्नेछ ।

पाथीभरा देवी (मुकुम्लुङ) दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आईएमई ग्रुपले गरिरहेको छ । आईएमई ग्रुपले केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
72
सम्बन्धित

लोकप्रिय

लोकप्रिय