बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाभरि ८२५ जना मात्र गरिब भएको तथ्यांक सार्वजनिक भएको छ ।
दुई वर्षअघि बिर्तामोड नगरपालिकाले गरेको सर्वे अनुसार नगरभरि अति गरिब १८६,मध्यम गरिब ३१७ र सामान्य गरिब ३२२ जना गरी जम्मा ८२५ जना गरिव रहेको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गरिव परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ को दफा १३ बमोजिम जारी भएको गुनासो सुनुवाई मार्गदर्शन २०७८ को दफा २ बमोजिम मन्त्रालयबाट प्राप्त गरिब परिवारको सूची बिर्तामोड नगरपालिकाले हिजो सार्वजनिक गरेको हो ।
नगरपालिकाले २०७८ माघ ८ देखि २०७९ असार ७ गतेसम्म ५ महिना लगाएर नगरपालिकाको १० वटै वडामा सर्वे गरेको थियो । सर्वे गर्नका लागि १७ जना गणक खटिएका थिए । सर्वे गरिएको रिपोर्ट मन्त्रालयमा पठाइएको थियो ।
गरिव परिवारको प्रारम्भिक सूचीउपर गुनासो तथा उजुरी दर्ता गराउनका लागि बिर्तामोड नगरपालिकाले १५ दिने सूचना जारी गरेको छ । गरिव परिवारमा समावेश हुनुपर्ने नाम प्रारम्भिक सूचीमा नपरेको वा समावेश नहुनुपर्ने नाम सूचीमा समावेश भएको वा एक वर्गमा समावेश गर्नुपर्ने परिवार अर्को वर्गमा समावेश भएको पाइएमा त्यस्तो सूचीउपर १५ दिनभित्र बिर्तामोड नगरपालिकाबाट खटिएका गुनासो सुनुवाई अधिकारीहरुसमक्ष गुनासो तथा उजुरी दर्ता गर्न सूचित गरिएको छ ।
सूचनामा नगरका वडा कार्यालयहरुमा गुनासो सुनुवाई अधिकारी खटिने कार्यतालिका सार्वजनिक गरिएको छ । माघ ४ गते वडा नं १ , माघ ६ गते वडा नं २ , माघ ७ गते वडा नं ३ , माघ ८ गते वडा नं ४ , माघ ९ गते वडा नं ५ , माघ १० गते वडा नं ६ , माघ ११ गते वडा नं ७ ,माघ १३ गते वडा नं ८ , माघ १४ गते वडा नं ९ र माघ १५ गते वडा नं १० मा गुनासो सुनुवाई अधिकारी खटिने प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिएका छन् ।
तोकिएको म्याद १५ दिनभित्र थपघट भएर आउने नामहरुलाई नगरपालिकामा छानबिन गरी मन्त्रालयमा पठाइने गुनासो सुनुवाई अधिकारी दुर्गाप्रसाद खरेलले बताए । उनले मन्त्रालयले अन्तिम सूची तयार गरिसकेपछि त्यस सूचीमा परेका व्यक्तिहरुलाई गरिबको परिचयपत्र दिइने खरेलले जानकारी दिए । बिर्तामोड नगरपालिकाको जनसंख्या करिव १ लाख ४२ हजार रहेको छ । त्यसमध्ये करिव ५८ हजार मतदाता रहेका छन् ।