अर्जुनधारा । झापाको अर्जुनधारामा जारी अन्तर मावि पुरुष नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा अर्जुनधारा–९ को नमुना खेल मैदानमा भइरहेको प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु आज सम्पन्न भएपछि सेमिफाइनल समिकरण पुरा भएको हो ।
प्रतियोगितामा सिंहदेवी मावि अर्जुनधारा १, शनिश्चरे मावि अर्जुनधारा ८, लक्ष्मी मावि अर्जुनधारा ६ र रुपरत्न मावि अर्जुनधारा ७ ले सेमिफाइनलमा स्थान बनाएका छन्।
आज भएका क्वाटरफाइनलको पहिलो खेलमा सिंहदेवी माविले न्युहोप माविलाई पराजित गर्यो । दोस्रो खेलमा जनता मावि खुदुनाबारी लक्ष्मीपुर मावीसंग पराजित बन्दा तेस्रो खेलमा कालिका माविलाई शनिश्चरे माविले हरायो । त्यस्तै क्वाटर फाइनलको अन्तिम खेलमा रुपरत्न माविले महारानिगञ्ज मावि विरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत भोलि सेमिफाइनलका खेलहरु हुनेछ । पहिलो खेलमा सिंहदेवी मावि अर्जुनधारा १ ले शनिश्चरेमावि अर्जुनधारा ८ संग प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेलमा लक्ष्मी मावि अर्जुनधारा ६ ले रुपरत्न मावि अर्जुनधारा ७ संग फाइनल प्रवेशका लागि भिड्ने छ ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुने छ । प्रतियोगितामा नगरका निजी र सामुदायिक गरि १४ वटा बिद्यालयका खेलाडी बिद्यार्थीहरुको सहभागिता रहेको आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । खेल क्षेत्रको प्रवर्दन गर्ने उदेश्यसहित खेलाडी छनोट तथा प्रशिक्षणलाई समेत सहज बनाउनका लागि प्रतियोगिता संचालन गरिएको धिमालले बताए ।
प्रतियोगिताको बिजेताले नगद ३० हजार र उपविजेताले २० हजार पाउने छन् । प्रत्येक खेलको प्लेयर्स अफ दि म्याचले नगद १ हजार र फाइनलका प्रत्येक बिधाका उत्कृष्ट खेलाडि र अफिसियलले जनही २ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिता अन्तर्गत आजका खेलमा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द्र बास्तोला, झापा जिल्ला रेफ्री सङ्घका अध्यक्ष तथा फिफा रेफ्री श्याम दनुवार, प्याप्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतम र अर्जुनधारा नगर शिक्षक महासंघका अध्यक्ष चन्द्र खत्री लगायतको उपस्थिति रहेको थियो।