आर्मीलाई पराजित गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौँ । नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी मेन्स एलाइट कप क्रिकेटको उपाधि जितेको छ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आज (बिहीवार) भएको फाइनल चरणको तेस्रो तथा अन्तिम खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गरेर च्याम्पियन बनेको हो।

विभागीय डर्बीमा पुलिसलाई उपाधि जिताउन स्पिनरद्वय सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे। अन्तिम दिन जितका लागि १०३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी २९ ओभर २ बलमा ७४ रन जोड्दै अलआउट भएको थियो।

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाए भने कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११र११ रन बनाए। बाँकी कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर र ललित मिलेर सबै विकेट लिए। सागरले ६ विकेट र ललितले ४ विकेट लिए।

प्लेयर अफ दि म्याच बनेका सागरले विकेट लिने क्रममा १४ ओभर २ बलमा एक मेडनसहित ३५ रनमात्र खर्च गरे। ललितले पनि १५ ओभर बलिङ गरेर २ मेडन राख्दै ३९ रनमात्र दिए।

दोस्रो इनिङमा पुलिस १३९ रन बनाएर अलआउट भएपछि आर्मीले उपाधि जित्न १०३ रनको लक्ष्य पाएको थियो।

९ विकेटमा १३२ रनको स्थितिमा तेस्रो दिनको खेल शुरु गरेको पुलिसले कुल स्कोरमा ७ रन जोडेपछि अन्तिम विकेट गुमाएको थियो।

पुलिसका लागि कुशल भुर्तेलले ४५ रन, दिलिप नाथले ३४ रन, राशिद खानले १८ रन र अमित श्रेष्ठले १३ रन बनाए। बलिङतर्फ आर्मीका शाहब आलम र बसिर अहमद दुवैले ५र५ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ९ विकेटमा १३३ रन बनाएपछि पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो।

यसअघि आर्मी दोस्रो दिन १७० रनमा अलआउट भएको थियो। पहिलो इनिङमा आर्मीले ३७ रनको अग्रता लिएको थियो।

नेपाल क्रिकेट सङ्घले ४ दशक क्यानको नेतृत्व गरेका जयकुमार नाथ शाहको स्मृतिमा आयोजना गरेको जय ट्रफीमा यस वर्ष गत संस्करणको पिएम कप पुरुष क्रिकेटको शीर्ष ४ टोली पुलिस, आर्मी, बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए।

राउन्ड रोविन लिगपछि पुलिस र आर्मीले लिग चरणमा शीर्ष स्थानमा रहँदै उपाधिका लागि खेलेका थिए। लिग चरणका खेल २ दिवसीय र फाइनल ३ दिवसीय फर्म्याटमा खेलाइएको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
122
सम्बन्धित

लोकप्रिय

लोकप्रिय