बीमाको रकम कुम्ल्याउन प्रेमीसँग मिलेर श्रीमानको हत्या

महेन्द्रनगर । श्रीमान‍्को विमाको २८ लाख रकम हत्याउनका लागि कञ्चनपुरको बेलौरीकी एक महिलाले भारतीय प्रेमीको योजनामा आफ्नै श्रीमानको हत्या गरेको खुलासा भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटकी जनक कुमारी रानाले ४९ वर्षीय श्रीमान सियाराम रानाको इँटाले हानेर हत्या गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जनककुमारीले भारतको खिरीको सम्पूर्णानगरका फारुख नाम गरेका प्रेमीको योजनामा श्रीमानमाथि इँटा प्रहार गरेर हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेशराज जोशीले बताए ।

रानाको शव २०८१ मङ्सिर १३ गते उनकै घरमा फेला परेको थियो । दोस्रो दिन प्रहरीले जनककुमारीलाई नियन्त्रणमा लिएको थियो । जनककुमारीलाई पुर्पक्षका लागि कारागार पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ ।

उनका प्रेमी भारतीय नागरिक फारुख पनि २०८१ पुस २८ गते पक्राउ परिसकेका छन् । घटनास्थलमा भारतीय नागरिक फारुख नभए पनि बीमाको रकम हत्याउनका लागि दुबैजनाबीच सीयारामको हत्या गर्ने योजना बनेको प्रहरीले जनाएको छ।

मृतक सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बिमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको प्रवक्ता जोशीले बताए । भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने आफै गरेको जनककुमारीले प्रहरीसमक्ष बयान दिएकी छन् ।

भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । उनीहरूले शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर, मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । रानाको घर कोठा खानतलासी गर्दा कोठा,कुर्सी,ढोकालगायतका ठाउँमा रगत लागेको भेटिएको थियो । खाटमुनी रगत लागेको इँटा भेटिएको थियो ।

दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए । सोधपुछका क्रममा मृतककी श्रीमती रानाले बिहीबार बिहान दुवैजनाबीच झगडा भएको र दिउँसो सुतेका बेला इँटा प्रहार गरि हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरेर मुद्दा चलाइएको हो ।

श्रीमतीमाथि अनुसन्धान गर्ने क्रममा भारतीयसँग मिलेर हत्या गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । अन्नपूर्णबाट साभार

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
52
सम्बन्धित

लोकप्रिय

लोकप्रिय